एचआईभी संक्रमितहरु भन्छन् : ‘रोगले होइन, विभेदले मार्थ्यो’

बिहीबार बैशाख ४, २०८२/ Thursday 04-17-25
Paschim Today
फाइल तष्विर

धनगढी ।  समयका पुराना पाना पल्टाएर हेर्दा बाँकेकी गौमती दुःख र अप्ठ्यारा दिन मात्रै भेट्छिन् । नभेटून् पनि किन, २५ वर्षकै उमेरमा उनले श्रीमान गुमाइन् । त्यसपछि त तीन वर्षको छोरा एक्लै हुर्काउने जिम्मेवारी उनको काँधमा आइपर्‍यो ।

यतिसम्म त उनले सहेकै थिइन्, तर जब उनले श्रीमान् जुन रोगसँग जुधेर मृत्यु भोगेका थिए, त्यही रोग आफूलाई पनि लागेको थाहा पाइन् तब उनका निम्ति सारा संसार अँध्यारो भएजस्तो भयो । गौमती दम्पतीलाई लागेको साझा रोग थियो–एचआईभी ।

रोगसँग जुध्ने थोरै साहस र आँट उनले बटुल्दै थिइन् तर समाजले गर्ने दुर्व्यवहार, आफन्ती र छरछिमेकीको बदलिँदो व्यवहारले उनलाई झनै धेरै चोट थप्यो । २८ वर्षको उमेरमा आफूलाई पनि एचआईभी लागेको थाहा पाएकी गौमती अहिले ४८ की भइन् । अहिले त उनलाई पुराना घाउमा खाटा बसेजस्तो भएको छ । किनकि गौमती आफैं एचआईभी संक्रमितलाई समाजमा पुन:स्थापित गर्ने अभियानमा होमिएकी छिन् । उनको एउटै कामना छ, ‘मैले जस्तो चोट र अपमान कसैले सहनु नपरोस् ।

पुराना दिन सम्झिँदै गौमतीले सुनाइन्, ‘मान्छेले भन्थे, छुनु पनि हुँदैन । सर्छ भनेर संक्रमितसँग नजिक जान पनि डराउँथे ।’ उनको मन सबैभन्दा धेरै त्यतिबेला दुख्थ्यो, जतिबेला मानिसहरू उनको छोरालाई पनि छुन डराउँथे, दुर्व्यवहार गर्थे । चाडबाडमा आफन्तले नबोलाउने, माइतीको ढोका बन्द गर्ने, टोल समाजमा कसैसँग बोल्ने साथी नहुने जस्ता समस्या गौमतीले वर्षौंसम्म भोग्नुपर्यो । उनले समाजको बहिष्करण झेलिरहेकी थिइन् । सानो छोरालाई पनि दुर्वाच्य बोल्दै एक्लाउन खोजे पनि उनको मन भाँचियो । आरोप बढ्न थालेपछि उनले छोराको पनि परीक्षण गरिन् । धन्न, छोरामा एचआईभी संक्रमण देखिएन ।

एकल महिला, त्यहीमाथि एचआईभी भएकै कारण भोग्नुपर्ने दुर्व्यवहार । ती दिन साँच्चै उनका निम्ति कठिन थिए । ०६३ सालमा उनी बिरामी परिन् । उपचारका निम्ति तीन महिनासम्म अस्पताल बस्नुपर्ने भयो । तर त्यतिबेला पनि उनले कसैको सहायता पाइनन् । त्यही उपचारका बेला उनले भेरी अस्पतालमा कार्यरत डा. जिरा सार्कीलाई भेटिन् । उनैबाट गौमतीलाई थाहा पाइन्, एचआईभी संक्रमितको अधिकारको पक्षमा काम गर्ने संस्था पनि छन् । ०५९ सालमा सुदूरपश्चिममा राष्ट्रिय एचआइभी एड्स महासंघ (एनएपीएन) स्थापना भइसकेको थियो । डाक्टर जिराले भनेपछि उनी संस्थामा जोडिइन् । अनि यही संस्थाकै सहारामा कैलाली आइपुगिन् ।

बाँकेबाट कैलाली आए पनि उनलाई समस्याले छाडेन । समाज त उस्तै थियो । त्यो दिन सम्झिँदै गौमतीले सुनाइन्, ‘कैलाली आएपछि मेरो समस्या झन् बढ्यो । एचआईभी लागेको भन्ने थाहा पाएपछि कति घरबाट निकाले । हामीलाई गर्ने व्यवहार त कुकुरलाई पनि गर्दैन थिए ।’

समाजको चरित्र जस्तो भए पनि उनी भित्रभित्रै बलियो भइसकेकी थिइन् । उनले कैलालीमा लामो समय महासंघको कोर्डिनेटरका रूपमा काम गरिन् । एचआईभी संक्रमितका हक हितका लागि लडिन् । संक्रमितलाई समाजमा बस्न सहज बनाउन होस् वा उनीहरूको मनको बह सुनेर आत्मविश्वास भर्न उनी हरदम सक्रिय भइन् ।

गौमतीले नेपालगन्ज छोडेको १८ वर्ष बित्यो । कैलाली पुगेर उनले छोरा हुर्काइन् । बिहे गरिन् । माईतसँग सम्पर्क टुटेको १९ वर्षपछि उनलाई भाइ खोज्दै आए । संक्रमित भएपछिका झन्डै दुई दशकको गौमतीको अनुभवमा एचआईभी संक्रमितप्रति समाजले गर्ने व्यवहारमा बदलाव त आएको छ । तर अपमान र हेला गर्ने प्रवृत्ति अझै निमिट्यान्न भइसकेको छैन ।

गौमतीकै जस्तो अनुभव छ- टीकापुरका गौतमको पनि । १५ वर्षअघि ३२ वर्षको उमेरमा संक्रमण पुष्टि भए पनि उनी लामो समय गुपचुप बसे । परिवार र समाजले आफ्नो रोग थाहा पाउला भनेर उनी हरदम सर्तक मात्रै भएनन्, औषधिसमेत खाएनन् । लक्षण बढ्दै गएपछि २०७२ सालमा उपचार सुरु गरे । तर त्यसपछि उनले समाजबाट झनै धरै अपमान भोगे । उनले सुनाए, ‘मैले मात्र होइन, मेरो परिवारले पनि उस्तै विभेद भोग्यो ।’नियमित औषधि सेवनले गौतम अहिले शारीरिक रूपमा कमजोर महसुस गर्दैनन् । तर उनको आत्मविश्वास खुस्काउन भने समाजले बेलाबखत हेलाहोचोको व्यवहार गरिरहन्छ ।

सुस्तरी बदलिँदैछ समाज

एचआईभी संक्रमितको ठूलो संख्या भएको सुदूरपश्चिममा यस क्षेत्रमा काम गर्ने थुप्रै संस्था यो बीचमा आउने-जाने गरे । राष्ट्रिय एचआईभी एड्स महासंघ सुदूरपश्चिमका प्रदेश सुपरभाइजर हेमन्त ओझा अहिले पनि सुदूरपश्चिममा यस क्षेत्रमा काम गर्ने १५ वटा संस्था क्रियाशील रहेको बताउँछन् । यी संस्थाले एचआईभी संक्रमणबारे समाजको बुझाइ बदल्न जनचेतना बढाउनेदेखि निःशुल्क औषधि, स्वास्थ्य बिमा, संक्रमित एकल महिलाका बालबालिकालाई निःशुल्क शिक्षा जस्ता विषयमा काम गरिरहेका छन् ।

दर्जनौं गैरसरकारी संस्था र सरकारी पहलका बाबजुद पनि एचआईभी संक्रमितबारे समाजमा अझै पनि गलत बुझाइ रहेको बताउँदै गौमतीले समाज पूरै बदलिन बाँकी रहेको बताइन् । उनी भन्छिन्, ‘संक्रमित खुल्न थालेका छन् । अनि सार्वजनिक रूपमा उनीहरूमाथि भेदभाव हुन छोडेको छ ।’

एन्टिरेट्रोभाइरल थेरापी (एआरटी)एचआईभीको उपचार गर्न प्रयोग गरिने औषधिको संयोजन जसले भाइरसको प्रतिकृतिलाई दबाएर रोगको प्रगतिलाई रोक्ने काम गर्छ । साथै एचआईभी सर्ने जोखिमलाई पनि कम गर्छ । सँगै सुगर र प्रेसरको औषधि पनि सेवन गरिरहेकी गौमती समाजले गर्ने व्यवहार र परिवारको प्रेमले पनि एचआईभी संक्रमितहरुको जीवनमा ठूलो अर्थ राख्ने बताउँछिन् ।

सेती प्रादेशिक अस्पतालबाट अहिले १ हजार ३७ जनाले एआरटी सेवा लिइरहेका छन् । अस्पतालको एआरटी शाखा प्रमुख लोकराज पनेरु औषधिको सहज उपलब्धता, शिक्षाको पहुँच र एचआईभी एड्ससम्बन्धी विभिन्न अभियान तथा जनचेतनामूलक कार्यक्रमका कारणले समाजको धारणा बदलिँदै गएको बताउँछन् । उनले भने, ‘अस्पतालमा आउने कुनै पनि संक्रमितले अहिले विभेद भोगेको गुनासो सुनाउँदैनन् ।’ उनले सरकारले बिरामीका लागि निःशुल्क औषधि, स्वास्थ्य बिमालगायतका थुप्रै सेवा सुविधा दिए पनि उनीहरूका बालबालिकाको शिक्षामा सहयोग गर्न नसकेको बताए । उनले भने, ‘माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भए पनि सरकारले निःशुल्क उच्च शिक्षाको व्यवस्था गर्नुपर्छ ।’

घटदैछन् संक्रमित

सरकारी र गैरसरकारी संस्थाहरुको निरन्तरको पहलका कारण सुदूरपश्चिममा एचआईभी संक्रमितको संख्या घट्दै जान थालेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीको तथ्यांकअनुसार परीक्षण गराएका कुल संख्यामा संक्रमण दर कम देखिन थालेको छ । त्यस्तै एचआईभी संक्रमितको मृत्युदर पनि घटिरहेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ९१ हजार ४४ जनामा परीक्षण गरिएकोमा ३ सय २५ जनामा संक्रमण देखिएको थियो । यो वर्ष ७९ जना एचआईभी संक्रमितको मृत्यु भएको थियो । आर्थिक वर्ष ०७९/८० मा १ लाख ४४ हजार ६ सय ४९ जनामा परीक्षण गरिएकोमा २ सय ५२ जनामा एचआईभी संक्रमण देखियो । यो वर्ष ६४ जना एचआईभी संक्रमितको मृत्यु भयो । आर्थिक वर्ष ०८०/८१ मा १ लाख ११ हजार १ सय ४९ जनाको एचआईभी परीक्षण गरियो । जसमा २ सय १८ जनामा एचआईभी संक्रमण पुष्टि भयो भने यो वर्ष पनि ६४ जना संक्रमितको मृत्यु भयो ।

आर्थिक वर्ष ०८१/८२ मा ३ हजार ३ सय २ जनामा परीक्षण गरिएकोमा ७० जनामा एचआईभी संक्रमण देखियो ।

स्वास्थ्य निर्देशनालय डोटीका जनस्वास्थ्य अधिकृत मनोज ओझाले संक्रमणदर र मृत्युदर संख्यात्मक रूपमा उस्तैउस्तै जस्तो देखिए पनि केही मात्रामा घटेको बताए । उनले र हाल सुदूरपश्चिमका १८ वटा एआरटी केन्द्रबाट झन्डै तीन हजार सात सय जनाले एआरटी सेवा लिइरहेको बताए । पहाडी जिल्लाबाट औषधि लिन सदरमुकाम आउनु पर्ने बाध्यताले टाढाका बिरामीलाई समस्या हुने गरेको उनको भनाइ छ । प्रदेश सरकारले यातायातको व्यवस्था गरिदिए बिरामीलाई राहत हुने उनले बताए ।

सरकारले चालेका कदम

सुदूरपश्चिम प्रदेश सरकार, स्थानीय सरकारले एचआईभी संक्रमण न्यूनीकरण गर्न विभिन्न शीर्षकमा बजेट विनियोजन गर्ने गरेका छन् । प्रदेश सरकारले चालु आर्थिक वर्ष ०८१/८२ मा पोषण तथा शिक्षा सहयोगबापत १५ लाख, स्वास्थ्यकर्मीलाई प्रशिक्षक प्रशिक्षण तालिमका लागि ६ लाख, मेसिन र सामग्रीमर्मत तथा जिन एक्सपर्ट साइटका लागि ३ लाख र एचआईभी केन्द्रमा कार्यरत मेडिकल अफिसर तथा हेल्थ असिस्टेन्टट, एआरटी काउन्सिलरलाई आधारभूत तथा रिफ्रेसर तालिम ५ लाख गरी जम्मा २९ लाख बजेट विनियोजन गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

गत आर्थिक वर्ष ०८०/८१ मा पनि एचआईभी संक्रमित बालबालिकाको लागि पोषण तथा शिक्षा सहयोग (प्रतिमहिना ५०० रुपैयाँका दरले) १६ लाख ६२ हजार रुपैयाँ विनियोजन गरेको थियो । यो रकमबाट प्रदेशभर २ सय २७ संक्रमित बालबालिकाले लाभ लिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

सरकारले एचआईभी संक्रमितका लागि स्वास्थ्य बिमाको व्यवस्था गरेको छ । जसबाट संक्रमितका परिवारले निःशुल्क औषधि र वार्षिक १ लाख बराबरको स्वास्थ्य उपचार खर्च पाउने गर्छन् । सुदूरपश्चिमका ९५ प्रतिशत एचआईभी संक्रमितले बिमा सेवा लिइरहेका छन् । बाँकी पाँच प्रतिशतमध्ये केही रोजगारीका सिलसिलामा भारत रहेका र केही भारतीय नागरिक भएकाले बिमामा आबद्ध हुन नसकेको स्वास्थ्य निर्देशनालय डोटीका जनस्वास्थ्य अधिकृत ओझाले बताए ।

सुदूरपश्चिमका कतिपय स्थानीय तहले पनि एचआईभी संक्रमण रोकथाम तथा बिरामी संरक्षणका क्षेत्रमा रकम विनियोजन गरेका छन् । कैलालीको गोदावरी,टीकापुर, गौरीगंगा, भजनी, लम्कीचुहा नगरपालिका, डोटीको शिखर नगरपालिका, पूर्वीचौकी,सायल,बडीकेदार गाउँपालिका, अछामको मेल्लेख, ढकारी, चौरपाटी गाउँपालिका, अछामकै मंगलसेन नगरपालिका, बैतडीको पाटन नगरपालिका गरी सुदूरपश्चिमका १६ स्थानीय तहले कूल ६३ लाख ७६ हजार ९ सय ८५ रुपैयाँ विनियोजन गरेका छन् ।

यीमध्ये धेरै पालिकाहरुले ८०/८१ बाट बजेट विनियोजन गरेका हुन् भने कैलालीको लम्की चुहा नगरपालिकाले भने ५ वर्ष यता निरन्तर रकम छुट्याउँदै छ । गोदावरी नगरपालिकाले विगत तीन वर्षदेखि रकम छ्ट्याउँदै आएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक जनक अवस्थीले बताए । उनले नगरपालिकाले वडामार्फत एचआईभी संक्रमित समूहसँग छलफल गरेर उनीहरूको माग र आवश्यकताअनुसार रकम खर्च गरिरहेको बताए । डोटीको बडीकेदार गाउँपालिकाले भने छुट्याएको रकम वार्षिक रूपमा २० हजारका दरले बिरामीलाई उपलव्ध गराउँदै आएको छ । बडीकेदारका जनस्वास्थ्य निरीक्षक योगेन्द्र शाहीका अनुसार पोषण, तथा उपचार खर्चका नाममा सो रकम वितरण हुने गरेको बताए ।

स्थानीय तहले छुट्याएका बजेटले सबै समस्याको समाधान नगरे पनि एचआईभी संक्रमतिलाई सजिलो बनाएको स्वास्थ्य निर्देशनालय डोटीका जनस्वास्थ्य अधिकृत ओझाले बताए । उनले सरकारले कोटा सिस्टम बनाएर एचआईभी संक्रमितका बालबालिकाको शिक्षामा पहुँच बढाउन आवश्यक रहेको बताए ।

(माथि प्रयोग भएका दुवै संक्रमितको नाम र ठेगाना उनीहरूकै अनुरोधमा परिवर्तन गरिएको हो )