प्रथम सुदुरपश्चिम प्रदेश कराते प्रतियोगिता धनगढीमा शुरु

धनगढी, २८ चैत्र ।
सुदुरपश्चिम प्रदेश कराते महासंघको आयोजनामा धनगढीमा प्रथम सुदुरपश्चिम प्रदेश कराते प्रतियोगिता २०८१ बुधवार शुरु भएको छ ।
बुधवार एक समारोहकाबीच सुदूर पश्चिम प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री कमल बहादुर शाहले प्रतियोगिताको उद्घाटन गरे ।
उद्घाटन मन्तब्यमा मुख्यमन्त्री शाहले प्रदेश सरकारले सिमित बजेटका बावजुद पनि खेलकुदमा लगानी बढाउदै गइरहेको र खेलकुदको विकासका लागि प्रदेश सरकार कटिबद्ध रहेको बताए ।
कार्यक्रमका बिशिष्ट अतिथि प्रतिनिधिसभा सदस्य डिल्ली राज पन्तले खेलाडीहरुले ठूलो मानिस भन्दा पहिले असल मानिस बन्नु पर्ने कुरामा जोड दिए ।
कराते महासंघका संस्थापक अध्यक्ष दावा गुरुङले खेलाडीले आफ्नो लक्ष्य निर्धारण गरेर अघि बढ्न अहिले देखि नै शसक्त ढंगले अघि बढन खेलाडीहरुलाई आव्हान गरे ।
कार्यक्रममा कैलाली जिल्ला खेलकुद समितिका अध्यक्ष तथा अन्तर्राष्ट्रिय कराते खेलाडी ललित खत्री र अन्तर्राष्ट्रिय कराते खेलाडी बर्षा साउँदलाई क्रमशः उत्कृष्ट पुरुष र महिला खेलाडी घोषित भए भने बबरजङ्ग शाही उत्कृष्ट स्वयंसेवक प्रशिक्षक घोषित हुँदा कर्ण बहादुर चन्दलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो।
चारै जनालाई नगद सहित सम्मानित गरिएको थियो। प्रतियोगिता आयोजना गर्न हाल अमेरिकामा रहेका पुर्व अन्तर्राष्ट्रिय कराते खेलाडीहरु मकेन्द्र बहादुर सिंह, जनक सिंह खड्का, कर्ण बहादुर चन्द र परमेश्वर चौधरी तथा दिवंगत कराते खेलाडी पर्शुराम चौधरीको तर्फबाट उनीहरुको परिवारले आर्थिक सहयोग गरेका थिए ।
उनीहरुले यस अघि समेत पटक पटक कार्यक्रमहरु संचालन गर्न सहयोग गरिसकेका छन् ।
प्रतियोगिताको उद्घाटन समारोह सुदुरपश्चिम प्रदेश कराते महासंघका अध्यक्ष त्रैलोक्यनाथ पाण्डेयको सभापतित्वमा सम्पन्न भएको थियो।
सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लाका ७०० खेलाडी लगायत प्रशिक्षक र निर्णायक गरि ८०० जनाको सहभगिता रहेको छ। प्रतियोगिता २९ गते सम्म सन्चालन हुने छ।
तपाईको प्रतिक्रिया