शेखरको छटपटी, गगनको दौडाहा र एनपीको बगावत

बिहीबार चैत २८, २०८१/ Thursday 04-10-25
Paschim Today

नेपाली काँग्रेसको १४ औं महाधिबेशनमा शेखर कोईराला पराजित भएपछि सबैभन्दा पीडामा थिए, गगन थापा । शेखर समूहबाट महामन्त्री जितेका उनले निर्वाचन लगत्तै आयोजित शेखर गुटको भेलामा आक्रामक हुदै शेर बहादुर देउवालाई आफूले भोट नहालेको पटक पटक बताए । शेखर गुटबाट लडिसकेपछि देउवालाई उनले भोट हाल्ने कुरै भएन । भोट नहालेको कुरा उनले बताउन आवश्यक पनि थिएन । किन प्रष्टिकरण दिनु पर्ने अवस्था आयो, उनै जानुन ।

चुनावको केही समयपछि उनमा पार्टीको निर्वाचित महामन्त्री भन्दा पनि शेखर गुटको नेताका धङधङ बाँकी थियो । उनी देउवाप्रति आक्रामक थिए । धेरैपछि सम्म पनि उनी देउवासंग भिड्ने मुडमा देखिन्थे । कतिसम्म भने एमाले र काँग्रेसबीच सात बूँदे सहमतीका आधारमा देउवा प्रधानमन्त्री हुने कुरामा पनि उनी सहमत थिएनन । उनले देउवा प्रधानमन्त्री नहुने सम्म बताउन भ्याए ।

तर समय बदलियो । गगन पनि बदलिए । गगनले भनिदिए, अवको प्रधानमन्त्री देउवा ।

योबीचमा उनको दूरी शेखरसंग बढिसकेको थियो । गगनसंग दूरी बढ्दै गर्दा उता शेखर भने देउवासंग नजिकिदै थिए । देउवा निकट व्यक्तिसंग शेखरले गगनका विषयमा गुनासो गर्न थालिसकेका थिए ।

माओवादीसंग काँग्रेसको गठबन्धनको बिरोध गर्ने शेखरले कोशी प्रदेशमा पार्टीको नीति र सहमती विपरित एमालेसंग सहकार्य गरेर केदार कार्कीलाई मुख्यमन्त्री बनाईदिए । गगनभित्र त्यतिबेलासम्म अलिकति बचेको शेखर प्रतिको सद्भाव र सम्मान मुख्यमन्त्री प्रकरणमा लगभग सकियो । गगनले कार्कीको नियुक्ति प्रकृयामा बिरोध गरे । गगनलाई साथ दिए, विश्वप्रकाश शर्माले । गगन र शेखरबीच दूरी बढाउने यो महत्वपूर्ण घट्ना थियो ।

महामन्त्री बनिसकेका गगनको लक्ष्य स्पष्ट छ–जसरी पनि सभापति बन्ने । उनी त्यसका लागि जोसंग पनि सहकार्य गर्न पनि तयार देखिन्छन् । पछिल्लो पटक देउवाप्रति नरम हुनु र देउवालाई प्रधानमन्त्रीका रुपमा स्वीकार गर्नु, उनको त्यही रणनीतिभित्र पर्छ ।
योबीचमा उनी पूर्ण बहादुर खडकासंग नजिक भए । खड्का आगामि महाधिवेशनमा पार्टी सभापति र गगन प्रधानमन्त्रीका रुपमा अघि सारिने कुरा पनि बाहिर आयो । गगन र पूर्ण बहादुरका बीचमा नियमितजसो भेटघाट र छलफल हुने गरेको कुरा पनि चर्चामा रह्यो । गगनसंग नजिकिदै गर्दा पूर्ण बहादुरका लागि बुढानिलकण्ठको ढोका बन्द हुने अवस्था आईलाग्न थाल्यो । पूर्ण बहादुरले देउवासंग प्रष्टिकरणसम्म दिनुप¥यो ।

गगनलाई यो पनि थाह छ, अव शेखरसंग आगामि अधिवेशनमा सहकार्य हुदैन । शेखर आफैमा सभापतिका उम्मेदवार हुन् । गगनले उद्घोष नै गरिसके–सभापतिमा उम्मेदवारी दिने । यस्तो अवस्थामा उनको खड्कासंगको सहकार्यको संभावना पनि समाप्त हुन्छ । किनकी खड्का पनि सभापतिकै आकांक्षी हुन् ।

गगन पार्टीभित्र पहिलो पुस्ताका नेताहरुका लागि जति थ्रेट हुन । त्यति नै थ्रेट हुन्, अन्य दलहरुका लागि पनि । किनकी वाकपटुता, तार्किक क्षमता, आफ्ना कुरा दमदार तरिकाले राख्न सक्ने खुवीका कारण गगनलाई नजरअन्दाज गर्न सक्ने अवस्था छैन् ।

गगनलाई सभापति स्वीकार गरेर उनको मातहतमा पदाधिकारी र सदस्य बन्न अहिलेसम्म पहिलो पुस्ताका कुनै नेता तयार देखिदैनन् । जसले गृहमन्त्री बनाए, तिनै देउवासंग टसल गरेर अघि बढेका बिमलेन्द्र निधिले महाधिवेशनमा देउवालाई टक्कर दिन खोजेकै दिन उनको पार्टीको नेतृत्वमा पुग्ने संभावना समाप्त भयो । उनलाई कसले उक्सायो थाह छ्रैन्, त्यो उनको भयंकर भुल थियो । नत्र आगामि अधिबेशनमा देउवाको समर्थनमा मधेशबाट काँग्रेसको नेतृत्वमा पुग्ने एउटा नेता जन्मिने संभावना थियो ।
राजनीति र युद्धमा कहिलेकाही दुई कदम पछि हट्नु पर्ने परिस्थिति पनि आउछ, त्यो कुरा बुझ्न सक्ने मान्छे ढिलोचाडो सफल हुन्छ । पछि हट्न तयार हुन नजान्ने सकिन्छ । मूर्ख कहलिन्छ । गगन त्यो मूर्ख होईनन् । सबै रिसराग र आक्रोश दवाएर देउवासंगको सामिप्यता बढाउनुको अन्तर्य यही हो ।

देउवालाई अव पार्टी सभापति बन्नु छैन् । एक पटक, अझ अन्तिम पटक प्रधानमन्त्री बन्नु छ । गगनलाई यो थाह छ कि, अहिले संसदीय दलको नेता बनेर आफू प्रधानमन्त्री बन्न सक्ने अवस्था छैन् । योबीचमा दुई पटक संसदीय दलको नेता फेर्न गरिएको हस्ताक्षर त्यसै रद्दीको टोकरीमा फालिएको होईन । त्यसैले उनी आगामि महाधिबेशनमा देउवाको साथ र समर्थनले पार्टीको सभापति भन्ने ध्याउन्नमा छन् । यो ‘ओपन सेक्रेट’ कुरा हो ।

कहिलेकाही उनी सोझै बोल्दैनन्, केही लेखक र उनी निकट पार्टीका युवा नेताहरुलाई अन्तर्वार्ता दिन लगाउछन्, आफूले बोल्न चाहेको कुरा बोल्न लगाउछन् । पछिल्लो पटक केही युवाहरुको अन्तर्वार्ता र लेख त्यही रणनीतिका उपज हुन् भन्ने कुरा बुझ्न गाह्रो हुदैन । उनले जति कुटनीति बुझेको र आफ्ना पक्षमा माहौल बनाउन कार्यकर्ता र साईवरको भरपुर प्रयोग गर्न सक्ने बिरलै नेताहरु छन् । कतिपयले सोच्न भ्याएका हुन्नन्, उनले त्यो योजना फत्ते गरिसकेका हुन्छन् । यो उनको खुवी हो ।
उनी यही खुवीले टिकेका हुन् । कहिलेकाही यही खुवी उनलाई भारी पर्ने गर्छ ।

यतिबेला देउवा निकट एनपी साउँदले गुट परिवर्तन गरेको कुरा समाचार बनिरहेको छ । साँउद त महाधिवेशनमा शेखर समूहबाट उपसभापतिमा लड्न घरभित्रैबाट दवावमा थिए । तर उनले घरको सुनेनन् । देउवाको समूहबाट केन्द्रीय सदस्य लडे । र, जिते । घरको सुनेको भए त्यतिबेलै उनी शेखर समूहको भईसक्थे ।

अव उनले देउवा समूहबाट पाउनु पर्ने केही छैन् । र, उनी हुन बाँकी पनि केही छैन । रमेश लेखक र साँउदका बीचमा कसले राम्रो मन्त्रालय पाउने प्रतिस्पर्धा चलिरह्यो । देउवाले दुईटैलाई पालैपालो अवसर दिईरहे ।

लेखक गृहमन्त्री हुनु अघि आफू परराष्ट्र मन्त्री रहेको कुरा साँउदले बिर्सिसके । कसले बनायो त्यो उनी जत्तिको परिपक्व नेतालाई सम्झाईरहनु पर्ने विषय नै होईन् ।

देउवाको साथ बिना शेखर सभापति हुनै सक्दैनन्, यो सत्य जान्दा जान्दै पनि कमजोर हुदै गएका शेखर समूहमा सामेल हुन खोजेर साँउदले दिन खोजेको सन्देशले ‘कसको रीसले ...के चिथोर्ने’ भन्ने मनोदशा देखाउछ ।

कुरा साँउदको मात्र होईन, अन्य कतिपय नेताहरु पनि खुट्टा उचालेका छन् । कतिपयले दैलो पार गरिसके । कतिपय दुबिधामा छन् ? कतिपय उपयुक्त समयको पर्खाईमा छन् । राजनीतिमा कोही कसैको गुटमा स्थायी रुपमा रहेको देखिदैन ।

पाका सात भाईको छलफल र कोठे बैठक जारी छ । शेखर गगन र विश्वप्रकाशहरुसंग दूरी बढ्दै गएपछि रन्थनिएका छन् । शर्मा र बजगाईहरुको साथले शेखरलाई कहाँ पु¥याउला ? पुटिन बन्ने पथमा कही जेलन्सिकी नबनून यति हेक्का त शेखरले पक्कै राखेका होलान ? जीवन परियार र चन्द्र भण्डारीहरु गुमाईसकेपछि शेखरसंग गुमाउन बाँकी कोही रहनेछैनन्, केही बाँकी रहनेछैन । बरिष्ठ बन्न नपाएको झोकमा जसरी शेखरले एकपछि अर्को पार्टीको आधिकारिक बिशाल प्रदेश सभा बहिष्कार गरे, उनको कमजोर मनोदशा त्यही प्रकट भयो । उनलाई बहिष्कार गर्ने बुद्धि कसले दियो ? को होलान उनका त्यस्ता सल्लाहकार र शुभचिन्तक ? देउवा र पौडेल बिगतमा बरिष्ठ नेता हुने । आफू किन नहुने ? त्यही सम्मेलनमा राख्नुपर्ने प्रश्न गुम्साएर कोठाभित्र दुईचार जनाबीच राख्नुको के अर्थ ?

सभापतिमा हार्ने जतिलाई बरिष्ठ मान्नु पर्ने तर्क शेखरको हो भने देउवासंग गगन हारेको अवस्थामा उनले गगनलाई बरिष्ठ नेता मान्थे कि मान्थेनन् । यो कुरा शेखरलाई कसले बुझाउने ? शेखरको समस्या यही नबुझेर हो । सभापतिमा लड्छु भन्छन् । तर पार्टीको प्रदेश सभा र पार्टी सभापतिहरुको भेला बहिष्कार गर्छन् ।

बोलाएका कार्यक्रममा जादैनन् । अनि नबोलाएको र बोलाउन नपर्ने ठाउँमा पनि नबोलाएको भनेर मिडियामा गुनासो गर्छन् । के शेखर त्यति कमजोर भएका हुन् ? के अव उनले पार्टीमा राख्नु पर्ने फरक मत र गुनासा मिडियामा राख्नु पर्ने अवस्था आएको   हो ?

पोखरामा सभापतिको बोलाएन भनेर रोईलो गर्नेले प्रदेश सभामा बोलाउदा पनि नजानुको कारण के होला ? त्यहाँ नजादा कसलाई घाटा भयो ? कसलाई फाईदा ? यसैलाई भन्छन्, रीस खा आफू, बुद्धी खा अरु ।

सरकार र पार्टीको काम कारबाही र नेतृत्वप्रतिका गुनासोहरु राख्ने थलो छोडेर मिडियाको सहारा लिनुपर्ने शेखरको कस्तो बाध्यता हो ?

शेखर महाधिबेशनमा पहिलो राउण्डमा पाएको भोटको धङधङ बोकेर बसेका छन् । त्यसयता कर्णाली र कोशीमा कति पानी बगिसक्यो । उनले त्यसको भेउ नपाएका होलान भन्नु व्यर्थ हुन्छ ।

गगन गुट होईन, सबै मिलाउन लागेका छन् । शेखर गुटबाट पनि टाढा झन टाढा हुदैछन् । माओवादीसंग सत्ता साझेदारी गर्दा पार्टी नेतृत्वको आलोचना गर्ने शेखर कोशीबाट माओवादीसंगको सहकार्य भत्काउने योजनाका सुत्रधार थिए । तर एमालेसंग सत्ता साझेदारी गर्दा पनि उनको बेचैन छ । त्यही सरकारमा आफ्नो गुटबाट मन्त्री पनि पठाएका छन् । सरकारको नेतृत्व न देउवाले गरेका छन् । उनी भने सरकार र पार्टी नेतृत्वको आलोचना गरेर थाकेका छैनन् । आफूले पठाएका मन्त्रीले सन्तोषजनक काम गर्न नसक्दा फिर्ता बोलाउन किन नसकेका होलान ? यति आलोकाचो त शेखर पटक्कै हुनु नहुने हो ।

गगनभित्र तमाम समस्या छन् । उनी आत्मकेन्द्रीत छन् । आफूलाई केन्द्रमा राखेर मात्र सोच्छन् । उनलाई युवा होईन, बृद्ध पनि आफ्नै स्वार्थसंग मिल्ने चाहिन्छ । काठमाण्डौं ४ बाट आफूले छोडेको सीटमा फरक गुटको युवाले टिकट पाउदा रोक्ने उनी नै हुन् । न उनले वाग्लेलाई जोगाउन सके । न त महरलाई जोड्न सके ।

यद्दपि नेपाली काँग्रेसमा सबैभन्दा बढि संभावना बोकेका नेता पनि गगन नै हुन् । पार्टीलाई पुनर्जीवन, कार्यकर्तामा उर्जा र सरकारलाई दिशा दिनसक्ने क्षमता उनले राख्छन् । उनलाई पार्टी भित्रै र बाहिरबाट गाली गर्नेहरु पनि उनको क्षमतालाई भने नजरअन्दाज गर्न सक्दैनन् ।

गगन थापाले भनिसके, जहाँ म उभिन्छु लाईन त्यहीबाट शुरु हुन्छ ।
उनको भनाईमा उनी कसैको लाईनमा मिसिन गएका होईनन् । उनकै लाईनमा सबै मिसिएका हुन् । सिटौलादेखि शेखरसम्म । त्यो पनि पालैपालो ।

अव हेर्न बाँकी छ, शेखर कुन लाईनमा मिसिन्छन् । एनपीहरुको लाईन के हुन्छ ? सात भाई कसलाई लाईन लगाएर परेड खेलाउछन् ।