सामाजिक विकास मन्त्री खड्काद्वारा आगलागी क्षेत्रको निरीक्षण

अछाम । आगलागीबाट नष्ट भएको बान्नीगढी जयगढ क्षेत्रको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले निरीक्षण गरेका छन् । धनगढीबाट गएका मन्त्री खड्का, प्रदेशकै आन्तरिक मामिला मन्त्री हिरा सार्कीको टोलीले आजगनी भएको बजारको बिहीबार निरीक्षण गरेका हुन ।
निरीक्षणका क्रममा मन्त्री खड्काले जलेर नष्ट भएका घर, पसलहरूको जानकारी लिएका छन् । क्षतिको विवरण लिनेसँगै आगजनीबाट पीडित व्यक्तिहरूसँग समेत भेटघाट गरेको बताइएको छ । बुधबार बिहान सुदूरपश्चिम मन्त्रिपरिषद्को बैठक सकेर खड्का क्षतिको स्थलगत निरीक्षणका लागि अछाम गएका हुन। क्षतिको बारेमा बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेकबहादुर साउँद र अछाम प्रहरी प्रमुख इश्वरीप्रसाद भण्डारीले जानकारी दिएका थिए । अछाम मन्त्री खड्काको गृह जिल्ला पनि हो ।
मङ्गलबार साँझ ७ः३० बजेतिर आगलागी भएर २३ घरमा रहेका ३५ वटा पसलहरू जलेर नष्ट हुँदा आठ करोडभन्दा बढीको क्षति भएको बान्नीगढी जयगढ गाउँपलिकाले जानकारी दिएको छ । गाउँपालिकाका अनुसार पीडितको तत्कालका लागि व्यवस्थापन भएको भए पनि पीडितको दीर्घकालीन व्यवस्थापनका लागि सरकारी र अन्य क्षेत्रसँग समन्वय भइरहेको बताएको छ ।
गाउँपालिका अध्यक्ष टेकबहादुर साउँदले एक विज्ञप्ति जारी गरेर आगलागी नियन्त्रणका लागि दमकल सहयोग गर्ने मङ्गलसेन नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, स्थानीय सहयोगीलाई धन्यवाद दिए ।
आगलागी भएको जयगढ बजारमा अछाम २ का प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाह, नेकपा ९एमाले० अछामका अध्यक्ष चन्द्र बोहरा, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, जनप्रतिनिधि र अन्य सरोकारवालाहरूले घटनास्थलको स्थलगत अध्ययन गरिसक्नुभएको छ । जनप्रतिनिधि, राजनीतिक दल र अन्य अगुवाहरूले पीडितलाई सहयोग गर्नका लागि अपिल गरे।
तपाईको प्रतिक्रिया