न्यूयोर्कमा हेलिकप्टर दुर्घटना, सबै यात्रुको मृत्यु

शुक्रबार चैत २९, २०८१/ Friday 04-11-25
Paschim Today

एजेन्सी । अमेरिकाको न्यूयोर्क शहरको हडसन नदीमा बिहीबार हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ। यस दुर्घटनामा हेलिकप्टरमा सवार सबै ६ जना यात्रुको मृत्यु भयो।

अधिकारीहरूले हेलिकप्टरमा पर्यटकहरूको एक परिवार रहेको बताएका छन्। मृत्यु हुनेमा तीन बालबालिका पनि छन्। न्युयोर्क शहरका मेयर एरिक एडम्सले बिहीबार पत्रकारहरूलाई बताएअनुसार परिवारका पाँच जना स्पेनका थिए भने छैटौं व्यक्ति पाइलट थिए।

न्यूयोर्क प्रहरी आयुक्त जेसिका टिस्चले दुर्घटनाको कारण अनुसन्धान भइरहेको बताइन्। मृतकका परिवारलाई सूचित नगरिएसम्म पीडितहरूको पहिचान खुलासा गरिने छैन।

यस दुर्घटनाको भिडियो फुटेजमा हेलिकप्टर आकाशबाट उल्टो खसेर हडसन नदीमा ठोक्किएको देखिन्छ। हेलिकप्टरले डाउनटाउन स्काईपोर्टबाट उडान भरेको थियो।