नेपालको संविधान विश्वकै उत्कृष्ट : प्रदेश प्रमुख मियाँ

सोमबार बैशाख १, २०८२/ Monday 04-14-25
Paschim Today

कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधान विश्वकै उत्कृष्ट रहेको बताएका छन् ।

भारतका संविधान निर्माता डा. भिमराव अम्बेडकरको १३४ औ जन्म जयन्तीको अवसरमा धनगढीमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख मियाँले नेपालको संविधानको चर्चा गर्दै संविधानले दिएको अधिकार बारे व्याख्या गरेका थिए ।

‘हाम्रो देशको संविधान विश्वकै उत्कृष्ट संविधान हो’, प्रदेश प्रमुख मियाँले भने, ‘संविधानले पर्याप्त अधिकार दिएको । त्यसलाई कार्यान्वयन गराउनु तपाई हाम्रो दाइत्व हो ।’

 

उनले पाएको अधिकारलाई संरक्षण गर्नु आजको आवश्यकता रहेको टिप्पणी गरेका थिए । प्रदेश प्रमुख मियाँले जात ,धर्म, वर्ग र लिङ्गको आधारमा विभेद गरे कडा कारबाही गर्ने व्यवस्था पनि कानुनमा रहेको बताए । संविधानको पूर्ण कार्यान्वयन गराउन सबै पक्षको भूमिका रहने उनको भनाइ थियो । पछिल्लो समय धेरै समस्या हल हुँदै गएको भन्दै प्रदेश प्रमुख मियाँले धेरै नकारात्मक टिप्पणी गर्नु भन्दा सकारात्मक सन्देश दिन आवश्यक रहेको बताए ।

कार्यक्रममा पूर्व मन्त्री समेत रहेका संविधान सभा सदस्य विश्वेन्द्र पासवानले सीमान्तकृत समुदायका धेरै नागरिकहरू अझै पनि अधिकारबाट वञ्चित रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा कमल बहादुर पुन, प्रेम बिसी, डा.सञ्जय सिंह, डा. मेराज आलम अन्सारी लगायतले डा. भिमराव अम्बेडकरको चर्चा गरेका थिए ।

नेपाल बौद्ध अम्बेडकर महासभा केन्द्रीय कमिटी र धर्माेदय सभा शाखा बुद्ध विहारको संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रम नेपाल बौद्ध अम्बेडकर महासभा केन्द्रीय अध्यक्ष मनोज जैगडी अध्यक्षतामा सम्पन्न भएको थियो ।