जङ्गलमा सिकिस्त भेटिएका घोडघोडीका पूर्ववडाध्यक्षको मृत्यु, ‘सुसाइड नोट’ मा के छ ?

बिहीबार बैशाख ४, २०८२/ Thursday 04-17-25
Paschim Today

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ९ का निवर्तमान वडाध्यक्ष कृष्णबहादुर शाहको मृत्यु भएको छ । बिहीबार दिउँसो दिउँसो करिब १ बजे घोडाघोडी नगरपालिका ९ को सिमली खोला नजिकै गम्भीर अवस्थामा उनी फेला परेका थिए ।

 

सल्फास नामक विषादीको खाली डब्बा र एउटा डायरी सँगै रहेको अवस्थामा प्रहरीले उनलाई फेला पारेको थियो । घरबाट करिब ९ः३० बजे निस्किएका शाहले केही व्यक्तिलाई ‘अब यो संसारमा म रहन्न’ भनेका थिए । ती व्यक्तिले नै प्रहरीलाई उनी जङ्गलतर्फ लागेको सूचना दिए । सोही सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुखडको टोली त्यसतर्फ गएको थियो ।

‘सूचना पाएलगत्तै हामी त्यहाँ लाग्यौँ,’ इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक दीर्घबहादुर साउँदले भने, ‘उहाँलाई गम्भीर अवस्थामा हामीले भेट्यौ र तत्काल उद्दार गरेर अस्पताल ल्यायौँ ।’

 

प्रहरीले तत्काल नै घोडाघोडी अस्पताल ल्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो । पोष्ट मार्टमको लागि अहिले शव सेती प्रादेशिक अस्पताल ल्याइएको छ । प्रहरीले भेटेको सुसाइड नोट माथि भने अनुसन्धान गर्ने जनाएको छ ।

सुसाइड नोटमा उनले परिवारका सदस्यहरुलाई सम्बोधन गरेर आफ्ना भावनाहरू पोखेका छन् । त्यस्तै राजनीतिप्रति नैराश्य जगाउने सन्देश पनि दिएको प्रहरी स्रोतको भनाइ छ ।

‘म आजको मितिबाट यो संसारमा रहन्नँ । सबैको बोझ भएँ । यो बोझमा रहन चाहन्न । सत्य सत्य रामराम । सबै मिलेर बस्नु । झैझगडा नगर्नू’, सुसाइट नोट लेखिएको छ ।
सुसाइड नोटमा आफ्नो दाजुलाई सम्बोधन गर्दै राजनीतिमा नआउन पनि आग्रह गरेका छन् ।

‘दाइ तपाई राजनीतिमा नआउनु । यो लाइन ठिक छैन । आफ्नै व्यापार गरस् खानु’ सुसाइट नोटमा भेटिएको छ ।

सुसाइड नोटमा हस्ताक्षर र मिति पनि उल्लेख भएको पाइएको प्रहरीले जनाएको छ ।

‘परिवारका सदस्यहरूले पनि सुसाइड नोटमाथि केही प्रश्न गर्नु भएको छ । हामीले अनुसन्धानको लागि पनि यो फोरेन्सिक ल्याबमा पठाउँछौँ,’ प्रहरी निरीक्षक साउँदले भने, ‘प्रारम्भिक रुपमा विष सेवनबाटै उहाँको मृत्यु भएको देखिन्छ । हामी अनुसन्धानमै छौँ ।’

२०७४ सालको स्थानीय चुनावमा नेकपा (एमाले)बाट वडा नम्बर ९ मा विजयी भएका शाह अहिले नेकपा एमाले घोडाघोडी नगर कमिटी उपाध्यक्ष समेत थिए ।