प्रदेशको शान्ति सुरक्षामा मुख्यमन्त्री शाहको चासो, सवारी दुर्घटना र लागु औषध नियन्त्रण गर्न निर्देशन

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशमा बढिरहेको लागू औषध दुर्व्यसनी नियन्त्रण गर्न मातहतका निकायहरूलाई निर्देशन दिएका छन् ।
सरकारका मन्त्री, सचिव, चारै वटा सुरक्षा निकायका प्रमुख तथा प्रदेश अन्तर्गत कार्यालयका प्रमुखलाई बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर मुख्यमन्त्री शाहले प्रदेशका लागू औषधको समस्या विकराल बन्दै गइरहेको भन्दै यसलाई नियन्त्रण गर्न निकै आवश्यक रहेको बताएका थिए ।
त्योसँगै प्रदेशको शान्ति सुरक्षाको अवस्था, भन्सार चेकजाँच तथा आवागमन सहजीकरण, राजश्व संकलन लगाएका विषयमा पनि परिणाम देखिनेगरि काम गर्न मुख्यमन्त्रीले निर्देशन दिएका थिए ।
‘प्रदेशभित्रको शान्ति सुरक्षाको अवस्था मजबुत बनाउन लाग्नुहोस्, सडक दुर्घटना रोक्न र पर्यटन प्रवर्द्धनका विषयमा पनि उपलब्धी पूर्ण काम गर्नुहोस्’ बैठकमा मुख्यमन्त्री शाहले भने । उनले सर्वसाधारण जनतालाई राज्यले दिने सेवा सुविधामा सहज पहुँचको वातावरण निर्माण गरी सम्मानजनक रुपमा सेवा प्रवाह गर्न समेत निर्देशन दिएका थिए ।
बैठकमा सुरक्षा निकायमा प्रमुखहरूले प्रदेशको समग्र शान्ति सुरक्षा चुस्त रहेको ब्रिफिङ गरेका थिए । बैठकले शान्ति सुरक्षाको स्थितिलाई थप प्रभावकारी बनाउन संस्थागत समन्वय र सहकार्यलाई निरन्तरता दिने, प्रदेशस्तरीय सुरक्षा सम्बन्धित बैठक सम्भव भएसम्म मासिक रूपमा सञ्चालन गर्ने, भन्सार चेकजाँच, सीमापार आवागमन सहजीकरण, लागु औषध नियन्त्रण गर्ने र रोजगारीका सिलसिलामा भारत जाने नेपाली नागरिकहरूको अभिलेख व्यवस्थापन कार्यलाई थप व्यवस्थित एवं प्रभावकारी बनाउनका लागि सरोकारवाला कार्यालयहरू र सुरक्षा निकाय समेतको प्रतिनिधित्व हुने गरी एक समिति गठन गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।
बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की, अर्थ राज्यमन्त्री प्रकाश बम, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय निमित्त प्रमुख सचिव श्री लिलाधर सुवेदी, नेपाली सेना, सुदूरपश्चिम प्रमुख उपरथी प्रकाश देउजा, भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश सचिव सुरत कुमार बम, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशी, सशस्त्र प्रहरी बल नेपाल, वैद्यनाथ बाहिनी सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपक अधिकारी, नेपाल प्रहरी, प्रदेश प्रहरी कार्यालय, कैलाली प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्ल, राष्ट्रिय अनुसन्धान विभाग, प्रदेश कार्यालयका सह अनुसन्धान निर्देशक नगेन्द्र प्रसाद दाहाल लगायताको उपस्थिति रहेको थियो
तपाईको प्रतिक्रिया