सुदूरपश्चिममा शिक्षाको ठुलो सम्भावना छ: प्रदेश प्रमुख मियाँ

शुक्रबार बैशाख ५, २०८२/ Friday 04-18-25
Paschim Today

कैलाली ।

सुदूरपश्चिम प्रदेश प्रमुख  नजिर मियाँले सुदूरपश्चिम प्रदेशको शिक्षा क्षेत्रले राम्रो सम्भावना बोकेको बताएका छन् । नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नास्ट )को २५ औँ वार्षिक उत्सव तथा अभिभावक दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख मियाँले  शिक्षा क्षेत्रबारे चर्चा गर्दै प्रदेशको सम्भावनाबारे बताएका थिए ।

‘गेटा मेडिकल कलेज विश्वविद्यालय बन्दै छ । सुदूरपश्चिम विश्वविद्यालय यहि नजिकै छ ’ प्रदेश प्रमुख मियाँले भने ‘सुदूरपश्चिममा अझै पनि प्राविधिक शिक्षा बढिरहेको छ । यसको सम्भावना अझै बढ्दै छ । ’

 २५ वर्षदेखि  प्रदेशमा विज्ञान तथा प्रविधितर्फ कलेजले गरेको भूमिका बारे चर्चा गर्दै उनले यहाँबाट उत्पादन भएका दक्ष जनशक्ति मुलुककै संवृद्धि र विकासमा केन्द्रित हुनुपर्ने बताएका थिए । प्रदेश प्रमुख मियाँले प्रविधि र गुणस्तरीय शिक्षा तर्फ ध्यान दिन सबै शिक्षा तर्फका सरोकारवालालाई आग्रह गरे । 

 ‘उहिले हाम्रा पालामा स्कुल खोज्दै जान्थ्यौँ, अहिले स्कुल \कलेज विद्यार्थी खोज्दै आएका छन्’ उनले भने, अध्ययनका लागि अहिले नास्ट जस्ता कलेज घर आगनमैं छन् , अव विदेशमा पढ्ने रहर र लहरलाई अभिभावक र विद्यार्थीहरूले रोक्नु पर्छ ।’

 प्रदेशका अर्थ राज्यमन्त्री प्रकाश बमले प्राविधिक शिक्षामा सुदूरपश्चिम प्रदेशले फड्को मारेको बताए  ।  सञ्चालक समितिका सदस्य डा. दिर्घसिह बम ले एकेडेमीलाई  साझा सम्पत्ति रुपमा हेरिदिन आग्रह गरेका थिए ।

रजत जयन्ती समारोहमा सञ्चालक समितिका सदस्यहरू डा. ज्योति शेरचन डा. सुशीला मल्ल, र  डा. हेमराज पन्त लगायतले शिक्षा आजको आवश्यकता रहेको  बताएका थिए । समारोहको अध्यक्षयता एकेडेमीका अध्यक्ष डा.चेतराज पन्तले गरेका थिए ।

 समारोहमा नेपाली कला र संस्कृति विविधतामा एकताको सन्देश दिदै बिभिन्न लोक संस्कृति झल्कने नृत्य प्रस्तुत गरिएको थियो  । कलेजका पूर्व बिद्यार्थि र अभिभावकहरुलाई सम्मानका साथै बिभिन्न प्रतियोगितात्मकता विजेता खेलाडीहरूलाई पुरस्कार प्रदान गरेको थियो ।