कांग्रेस-एमालेबीच सत्ता साझेदारीमा समस्या छैन, सरकार पनि ढल्दैन : गृहमन्त्री

शनिबार बैशाख ६, २०८२/ Saturday 04-19-25
Paschim Today

काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार दल कांग्रेस र एमालेबीचको सम्बन्धमा कुनै समस्या नरहेको बताएका छन् । शनिबार नेपाल प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा गृहमन्त्री लेखकले दुई दलबीच सत्ता साझेदारीमा कुनै समस्या नभएको र सरकार पनि नढल्ने स्पष्ट पारेका हुन् ।

सरकार सहमतिका साथ नै अघि बढिरहेको भन्दै उनले भने, 'साथीहरूले सरकार ढल्छ, ढल्छ भनिदिनुहुन्छ अनि ढल्दैन है भनेर हामीले भनिरहनुपरेको छ ।' पछिल्लो समयमा संविधानसँगै संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी गतिविधिहरू देखा परिरहेको बताउँदै उनले संविधान विरोधी गतिविधि जनताले नरोज्ने स्पष्ट पारे ।

संविधान विरोधी गतिविधिका माध्यमबाट अराजकता, वितण्डा मच्चाउन खोज्ने प्रवृत्तिलाई राजनीतिक रूपमा जवाफ दिनुका साथै सरकार कानुनबमोजिम अघि बढ्ने उनले बताए ।