बैतडीमा अटो दुर्घटनामा घाइते युवकको धनगढीमा मृत्यु

शनिबार बैशाख ६, २०८२/ Saturday 04-19-25
Paschim Today

धनगढी : बैतडीमा अटो दुर्घटनामा घाइते भएका एक युवकको उपचारका क्रममा धनगढीमा मृत्यु भएको छ।

जयपृथ्वी राजमार्ग अन्तर्गत ढोल्यामोडमा ३० चैतमा सुदूरपश्चिम प्रदेश ०१००१ ह ६५७९ नम्बरको अटो दुर्घटनामा घाइते भएका सिगास गाउँपालिका–९ बाजपानीका २५ वर्षीय अन्तराम विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

विष्टको माया मेट्रो अस्पतालमा उपचारका क्रममा शुक्रवार दिउँसो मृत्युु भएको हो। अस्पतालको सघन उपचार कक्ष आईसीयूमा विष्टको शुक्रवार मृत्यु भएपनि शव उठ्न सकेको छैन।

 

कैलाली प्रहरीले मृतक र दुर्घटनामा परेको अटो धनी पक्षबिच छलफल चलीरहेकाले अहिलेसम्म शव नबुझेको बताएको छ। अटो दुर्घटनामा अन्य दुई जना पनि घाइते भएका थिए।

जिल्ला प्रहरी कार्यालय बैतडीले दुर्घटनामा बझाङको बित्थडचिर गाउँपालिका–२ का ४० वर्षीय गम्भीर बोहरा र ५० वर्षीय हर्कबहादुर बोहरा पनि घाइते भएका बताएकोछ। उनीहरूको डडेल्धुरामा उपचार भइरहेको छ।

 

मृतक विष्टका आफन्तले दुर्घटनाका बेला अटो चलाउने व्यक्तिलाई छाडेर प्रहरीले अर्को व्यक्तिलाई नियन्त्रणमा लिएको आरोप लगाएका छन्। उनीहरूले पुर्चौडीका करे धानुुकले अटो रिक्सा चलाएका बेला दुर्घटना भएको तर उनीसँग सवारी चालक अनुमति पत्र लाइसेन्स नभएकाले उन्मुक्ति दिदै धानुककै दाजु दिपक धानुकलाई नियन्त्रणमा लिएको बताएका छन्।

धानुकलाई शुक्रवार मात्र इलाका प्रहरी कार्यालय पाटनले नियन्त्रण लिएको छ। मृतकका आफन्तले भने दुर्घटनाका बेला अटो चलाइरहेका करे धानुकलाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याउन माग गरेका छन्। उनलाई पक्राउ नगरेमा शव नउठाउने चेतावनी दिइएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) मकेन्द्र कुमार मिश्रले अटो दिपक धानुकले चलाएको भन्ने आधारमा पक्राउ गरिएको बताए। तर, पीडित पक्षले भनेजस्तै दुर्घटनाका बेला अर्को व्यक्तिले अटो चलाएको भए किटानी जाहेरी ल्याएमा पक्राउ गरेर अनुसन्धान अघि बढाइने उनले बताए।