बेलौरीमा डुबानको समस्या, निराकरणका लागि थालिएन पूर्व तयारी

कञ्चनपुर । कञ्चनपुरको बेलौरीका अधिकांश क्षेत्र वर्षेनी डुबानमा पर्दै आएका छन् । यस वर्षपनी बेलौरीमा डुबानको समस्या निराकरणका लागि पूर्व तयारी भने थालिएको छैन ।
बेलौरीनगरपालिका वडा नम्बर ८ कलकत्ता बजार वर्षायाममा डुबानमा पर्दै आएको छ । बर्सेनि डुबानको समस्या झेल्दै आएको कलकत्ता बजारमा यस वर्षपनी पूर्व तयारी नगरिँदा जोखिम बढ्ने देखिएको हो ।
विपद न्यूनीकरणमा नगरपालिका र वडा कार्यालयले चासो नै नदिँदा डुबानको जोखिम रहेको स्थानीय झन्कर रानाले बताए । गत वर्ष कलकत्ताका स्थानीयले दश लाखभन्दा बढीको क्षति बेहोर्नु परेको थियो ।
बाढीसँगै भएको डुबानले कृषकहरूले अच्काली क्षति बेहोरेसँगै महिनौ दिन सडकमा बास बस्नु परेको गुनासो गरिएको छ । वर्षा याममा पथरिया नदी, सुतली नदिले कलकत्ता डुबानमा पर्दै आएको छ ।
डुबान समस्या निराकरण गर्न जनप्रतिनिधिले भने चासो नै नदिएको गुनासो गरिएको छ । डुबानको समस्या समाधानका लागि वडा अध्यक्षलाई पटक पटक आग्रह गरिएपनी स्रोत साधनको अभाव भन्दै चासो नदिएको स्थानीय लोकेश रानाले गुनासो गरे। उनले भने, ‘‘गत वर्ष परिवारसँगै डेढ महिना नहरको डिलमा पाल टाँगेर बस्नुपर्यो, यस वर्षपनी सोही पीडा दोहोरिनेमा चिन्तित छु ।’’ उनले भने।
कलकत्तामा दुई हजारभन्दा बढी घरधुरी डुबानमा पर्दै आएका छन् । सुतिया नदिले बजार नै बर्सेनि डुबानमा पर्दै आएको छ । पानी निकास हुन नपाउँदा यहाँका बासिन्दाले महिनौँ दिन उकालो ठाउँमा घर छोडेर बस्नुपर्ने बाध्यता रहिआएको छ ।
बेलौरी नगरपालिका–८ का वडा अध्यक्ष विष राम रानाले भने बजेट अभाव र अन्य निकायले चासो नदिँदा यस वर्ष पनि कलकत्तावासीले डुबानको समस्या झेल्नुपर्ने बताए । असार–साउनमा पर्ने अविरल वर्षाले कलकत्ता बजार डुबानमा पर्दै आएको छ ।
नगरपालिका बाट बजेट आउँदैन उनले भने, ‘‘ठाउँ ठाउँमा तटबन्ध बाँध्नुपर्ने छ ।’’
एकातिर खोला र नालाको सफाइ नगरिँदा विगत ५–६ वर्ष यता बजार डुबानमा पर्दै आएको उनले बताए । सिङ्गघानाला, किचैया नाला, जब्दा र वडा नम्बर ९ भएर बग्ने खप्टी नालामा माटो भरिएकाले सफाइ नहुँदा कलकत्ता डुबानमा पर्दै आएको उनले बताए ।
जसका लागि सिँचाइ कार्यालयमा अनुरोध गरिएपनी सुनुवाइ नभएको वडा अध्यक्ष राना बताउछन् । यता बेलौरी नगरपालिकाले भने यस वर्ष केही भए पनि विपद न्यूनीकरणका लागि नाली सफाइ अभियान थालिने जनाएको छ ।
बेलौरी नगरपालिकाका विपद सम्पर्क व्यक्ति अशोक पाण्डेयले आगामी महिनासम्म बेलौरीका केहि नाला सफाइ अभियान थालिने बताएका छन् । कलकत्ता क्षेत्र भने विभिन्न कारणले डुबानमा पर्दै आएको बताउदै पाण्डेयले आगामी दिनमा माटोले भरिएका नाला सफाइ गरिने बताए ।
बेलडाँडीको इमलियामा माटोको बाँध भत्केर चौधर नदीले वडा नं १० को बन्दाजाला, भुडा, भुडागौँडी, सडक घाट, शिव नगर वडा नं ८ को कानपुर, पिसिएन टोल, कलकत्ता, कलकत्ता बजार, पचुँइको पश्चिम टोलमा बाढी पसेको थियो । यस वर्ष चौधर नदीमा बाध बाँध्ने कार्य भइरहेकाले बाढी बस्तीमा नपस्ने पनि विपद सम्पर्क व्यक्ति अशोक पाण्डेयले बताए ।
तर पथरिया, सुतिया सहितका नदिमा तटबन्ध नगरिँदासम्म डुबानको समस्या कायम रहने भन्दै स्थानीयहरू चिन्तित छन् ।
तपाईको प्रतिक्रिया