विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण, नवजीवन अस्पतालमा निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था

आइतबार बैशाख ७, २०८२/ Sunday 04-20-25
Paschim Today

कैलाली । कैलालीमा आर्थिक रूपले विपन्न र जेहनदार विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।  नेपाल निजामती कर्मचारी सङ्गठनको ३५ औँ स्थापना दिवसको अवसरमा विद्यार्थीहरूलाई झोला वितरण गरिएको हो ।

श्री समौजी आधारभूत विद्यालय धनगढी उपमहानगरपालिका १५ उर्मा आज एक कार्यक्रमकाबीच नेकपा एमाले कैलाली अध्यक्ष यज्ञराज ढुङ्गानाले झोला हस्तान्तरण गरेका हुन् ।

‘झोला नहुँदा कापी किताब सुरक्षित नभएको र विद्याथीहरुलाई समस्या भएपछि हामीले झोला वितरण गरेका हौँ ’ अध्यक्ष ढुङ्गानाले भने । विद्यालयमा रहेका ६५ जना विद्यार्थीहरूलाई झोला उपलब्ध गराइएको हो ।

झोला पाएपछि खुशी भएका विद्यार्थीहरूले शैक्षिक सामाग्री अब सुरक्षित हुने बताए । झोला नहुँदा सामान्य पानीमा पनि किताबहरू बिग्रने गरेको भन्दै उनीहरुले अब किताब कपि सुरक्षित हुने बताए ।
अध्यक्ष ढुङ्गानाले नवजीवन अस्पतालमा विद्यार्थीहरूको लागि निःशुल्क परीक्षणको व्यवस्था पनि गरिएको बताए ।
नेपाल निजामती कर्मचारी सङ्गठन नेकपा एमालेको जनबर्गिय सङ्गठन हो । यसअघि विभिन्न जनबर्गिय सङ्गठन र नेकपा एमाले जिल्ला कमिटी कैलालीले पनि विभिन्न सामाजिक कामहरू गर्दै आइरहेको छ ।

‘नेकपा एमाले सबैको सुख दुखको साथी हो भन्ने सन्देश पनि दिएका छौँ ’ अध्यक्ष ढुङ्गानाले भने ‘हाम्रो पार्टी र जनबर्गिय सङ्गठनहरू राजनीतिक विषयसँगै सामाजिक विषयमा पनि त्यतिकै अगाडी छौँ । ’