घाईते नेपाली काँग्रेस सुदूर पश्चिमका महामन्त्री शाहलाई थप उपचारका लागि लखनउ लगियो

आइतबार बैशाख १४, २०८२/ Sunday 04-27-25
Paschim Today

धनगढी, १४ बैशाख ।
भारतको खिरी जिल्लाको खुटारमा दुर्घटनामा परी घाईते भएका नेपाली काँग्रेस सुदूर पश्चिमका महामन्त्री नरनारायण शाह (मनु) लाई थप उपचारका लागि लखनउ लगिएको छ ।

पिरिवारका सदस्यहरु सहित नयमित स्वास्थ्य जाँचका लागि धनगढीबाट दिल्ली जादै गरेका शाह चढेको गाडी आज बिहान भारतको खिरी जिल्लाको खुटारमा दुर्घटनामा परेको थियो ।

दुर्घटनापछि खुटारस्थित सरकारी अस्पतालमा भर्ना गरिएका शाह सहितका घाईतेलाई आकस्मिक उपचारपछि शाहजहाँपुर लगिएको हो । त्यहाँ पनि उपचार संभव नभएपछि लखनउ लगिएको हो । चिकित्सकले शाहको अवस्था खतरामुक्त रहेको बताएका छन् । शाहलाई थप उपचारका लागि लखनउस्थित म्याक्स अस्पताल लगिदैछ ।

खुटारमा दुर्घटनामा घाईते भएका छ जनामध्ये तीन जनालाई उपचारका लागि खुटारबाट शाहजहाँपुर लगिएको थियो । तीन जनाको खुटारस्थित अस्पतालमा उपचार भईरहेको छ।

शाह चढेको गाडी रोडवेजको बससंग ठोकिएको थियो । बसको ठक्करबाट उनी चढेको गाडी पुरै क्षतिग्रस्त भएको छ । गाडीको अगाडिको सीटमा बसेका कारण शाहलाई बढि चोट लागेको थियो ।

बसको ठक्करबाट शाह चढेको गाडीको अगाडिको भाग पुरै कच्याकचुक भएको छ । दुर्घटना लगत्तै घट्नास्थल पुगेका सर्वसाधारणहरुले गाडीभित्रबाट शाह सहितका घाईतेहरुलाई बाहिर निकालेका थिए ।

गाडीमा शाह, उनकी पत्नी, छोरी, आमा, बहिनी र ज्वाई सवार थिए । शाह, उनकी पत्नी र बहिनीलाई थप उपचारका लागि शाहजहाँपुर लगिएको हो । शाहकी छोरी, आमा र ज्वाईको खुटारस्थित अस्पतालमा उपचार भईरहेको छ। शाहको टाउकोमा चोट लागेको छ । उनकी पत्नीको हात भाँचिएको छ । छोरीको आँखामा चोट लागेको छ ।

दुर्घटनाको जानकारी पाएपछि धनगढीबाट हिडेका परिवारका सदस्य शाहजहाँपुर पुगेका छन् ।