पाकिस्तानले खसाल्यो भारतको जासुसी ड्रोन, युद्ध हुनसक्ने रक्षामन्त्रीको चेतावनी
2025-04-29-03-57-43.jpeg)
काठमाडौं । पहलगाम आक्रमणपछि तनाव बढिरहेको बेलामा पाकिस्तानी सेनाले मङ्गलबार जम्मू-कश्मीर (एजेके)मा नियन्त्रण रेखा (एलओसी) नजिकै एक भारतीय क्वाडकोप्टर ड्रोन खसालेको दाबी गरेको छ ।
अप्रिल २२ मा भएको आक्रमणमा एक नेपालीसहित २६ जनाको मृत्यु भएपछि दुई देशबीच तनाव बढिरहेको छ । यो सन् २००० पछिको विवादित हिमालयन क्षेत्रमा भएको सबैभन्दा घातक सशस्त्र आक्रमणहरूमध्ये एक थियो ।
द रेजिस्टेन्स फ्रन्ट भनेर पनि चिनिने कश्मीर रेजिस्टेन्सले घटनाको जिम्मेवारी लिएको प्रारम्भिक सन्देशपछि आक्रमणमा संलग्नतालाई ‘स्पष्ट रूपमा’ अस्वीकार गरेको बताएको छ ।
“पाकिस्तानले आफ्नो हवाई क्षेत्रको उल्लङ्घनलाई विफल पार्दै नियन्त्रण रेखामा एक भारतीय क्वाडकोप्टरलाई सफलतापूर्वक खसालेको छ,” सरकारी रेडियो पाकिस्तान र पीटीभी न्यूजले सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ ।
“पाकिस्तानी सेनाले समयमै कारबाही गरेर शत्रुको यो घृणित प्रयासलाई विफल पारेको छ,” रिपोर्टमा भनिएको छ ।
सुरक्षा स्रोतहरूले यो घटनालाई ‘पाकिस्तानी सेनाको सतर्कता, व्यावसायिक सीप र रक्षात्मक तयारीको स्पष्ट प्रमाण’ भनेका छन् ।
“पाकिस्तानी सेना शत्रुको कुनै पनि आक्रमणको तत्काल र प्रभावकारी जवाफ दिन सधैं तयार छ,” रिपोर्टमा भनिएको छ, “सम्पूर्ण राष्ट्र हरेक मोर्चामा शत्रुलाई उचित जवाफ दिन सशस्त्र सेनासँग एकताबद्ध छ ।”
भारतीय सेनाले आफ्ना सैनिक र पाकिस्तानी सेनाले एकअर्कामाथि गोलीबारी गरेको बताएको छ ।
भारतले सोमबारदेखि मङ्गलबारसम्म रातभरि, कश्मीरको कुपवाडा र बारामुल्ला जिल्लाको विपरीत क्षेत्रका साथै अखनूर सेक्टरमा गोलीबारी भएको बताएको छ । तर, हताहतको कुनै रिपोर्ट आएको छैन ।
यसअघि पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफले पाकिस्तान भारतसँग कुनै पनि आक्रमणको लागि तयार रहेको चेतावनी दिएका थिए ।
चेतावनी दिएको केही घण्टापछि भारतीय जासुसी ड्रोन खसालेको दाबी पाकिस्तानले गरेको हो । “यदि केही भयो भने दुई वा तीन दिनमा हुनेछ । तत्काल खतरा छ,” आसिफले भनेका थिए ।
तपाईको प्रतिक्रिया