जोरायलको विकासलाई प्राथमिकता दिने मन्त्री पालको प्रतिबद्धता

सोमबार बैशाख २२, २०८२/ Monday 05-05-25
Paschim Today

डोटी, २२ बैशाख ।

सुदूर पश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पालले डोटीको जोरायल गाउँपालिकाको विकासलाई प्राथमिकता दिने बताएका छन् ।

शनिवार जोरायल गाउँपालिकाका बिभिन्न विकास आयोजनाको स्थलगत अनुगमनपछि पालिकाका तर्फबाट अध्यक्ष दुर्गादत्त ओझाले बुझाएको ज्ञापन पत्रलाई सम्बोधन गर्दै भौतिक पूर्बाधार मन्त्री पालले आगामि आर्थिक वर्षको बजेटमा जोरायललाई प्राथमिकता दिने बताए ।

मन्त्री पालले प्राबिधिक र आर्थिक कारणले गति लिन नसकेका जोरायल गाउँपालिकामा सञ्चालित प्रदेश र संघका विकास निर्माणका आयोजनाहरुको समग्र अवस्था बुझेर ती आयोजनालाई अघि बढाउन पहल गर्ने प्रतिबद्धता गरे ।

केही योजनाहरुमा प्राबिधिक त्रुटी छन् । केही योजनाहरु ठेकेदारको लापरबाही र आर्थिक अभावका कारण रोकिएका छन्, उनले भने, मन्त्रालयमा छलफल गरेर ती सबै योजनाहरुलाई अघि बढाउने छु ।

उनले सडक, तटबन्ध र भौतिक निर्माणका लागि पालिकाका तर्फबाट बुझाईएको ज्ञापन पत्रमा उल्लेख भएका सबै माग तत्काल पुरा गर्ने प्रतिबद्धता गर्न नसकेपनि अधिकांश मागहरु पुरा गर्ने बताए ।

मन्त्री पालले अध्यक्ष दुर्गादत्त ओझाको आग्रहमा पहिलो पटक जोरायलको अवलोकनका लागि आएको सुनाए ।

अध्यक्षजीले पटक पटक जोरायलको विकास र निर्माण आयोजनाहरुको स्थलगत अनुगमनका लागि आग्रह गर्दै आउनुभएको थियो । मन्त्री पालले भने, उहाँको विकासप्रति हुटहुटी र आग्रहका कारण जोरायल आएको हूँ । मन्त्री पालले जोरायल सोचेभन्दा सुन्दर पाएको बताए । पहिलो पटक जोरायल भ्रमण गर्ने अवसर पाए, उनले भने, मैले जोरायल सोचेभन्दा सुन्दर पाए । सुन्दर जोरायललाई समृद्ध बनाउन पालिकाले गरिरहेको प्रयासमा प्रदेश सरकारका तर्फबाट सक्दो सहयोग गर्नेछु ।

अध्यक्ष ओझाले आर्थिक वर्ष ०७७⁄७८ मा शुरु भएको बुडर–जोरायल–चनकट्टे गडसेरा सडकको निर्माण कार्य हालसम्म ३० प्रतिशत मात्र भएको जानकारी दिदै सडक निर्माणको काम यथाशिघ्र अघि बढाउन मन्त्री पालसंग आग्रह गरे ।

उनले रिठा देखि चनकट्टेसम्मको सडकको काम अढाई वर्षअघि सम्पन्न हुनु पर्नेमा एक वर्ष म्याद थप गर्दा पनि सम्पन्न हुन नसकेको जानकारी दिए ।
अध्यक्ष ओझाले पालिका र वडालाई जोड्ने  खसरे–जोरायल सडक चौडा गरिदिन आग्रह गरे । उनले भने, सडक त बनेको छ । चौडा गरिदिनु प¥यो ।
ओझाले गैरा जोड्ने घुरुणे–मणिपुर–जोरायल सडकको स्तरोन्नतीका लागि मन्त्री पालसंग आग्रह गरे । 

नदीको कटानले जोरायलका उर्वर खेतहरु बगरमा परिणत भईरहेका छन् । कटान रोक्न तटबन्धका लागि पर्याप्त बजेट बिनियोजन गरिदिनु प¥यो । गैरा देखि मुडभरा जोड्ने सडकमा बजेट बिनियोजन गरिदिनु प¥यो, जोरायलवासीका तर्फबाट ज्ञापन पत्र बुझाउदै ओझाले भने, बुडरदेखि जोरायलको जोड्ने सडकको निर्माण किन रोकियो ? यसको तथ्य पत्ता लगाएर यथाशिघ्र सडक निर्माण कार्य सम्पन्न गर्न आग्रह गर्दछु ।

पालिकातर्फबाट ज्ञापन पत्र बुझाउने क्रममा उपाध्यक्ष जुमनादेवी बोहरा, प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त भट्ट, वडा अध्यक्ष वीर बहादुर दर्लामी, नेकपा एमाले जोरायल गाउँपालिका कमिटी अध्यक्ष चित्रराज भट्ट, वडा सदस्य गम बहादुर खत्री लगायतले पालिकाका समस्या र संभावनाका बारेमा मन्त्री पाललाई जानकारी दिनुका साथै जोरायलको विकास र समृद्धिका लागि पर्याप्त बजेट बिनियोजन गर्न प्रदेश सरकारसंग आग्रह गरे ।