कैलाली बहुमुखी क्याम्पसकी पहिलो महिला भौतिकशास्त्री डा. रमा देवी उपाध्याय

पश्चिम टुडे, धनगढी २४ बैशाख ।
कैलाली बहुमुखी क्याम्पसमा विज्ञान संकाय प्रमुखका रूपमा कार्यरत रमा देवी उपाध्यायले त्रिभुवन विश्वविद्यालयअन्तर्गत भौतिकशास्त्रमा विद्यावारिधि (पि.एच.डी) गरेकी छिन् । उनी सो क्याम्पसबाट पी.एच.डी सम्पन्न गर्ने पहिलो महिला हुन् । उक्त उपलब्धि सुदूरपश्चिम क्षेत्रकै लागि गर्वको विषय बनेको छ।
उनले पीएचडी शोध “सोलिड स्टेट लाइटिङ एप्लिकेसनहरूको लागि नानोफोस्फोरसको संश्लेषण र चरित्रीकरण” शीर्षकमा आधारित रहेको छ । डा.उपाध्यायको अनुसन्धान कार्यले विशेष गरी नानोविज्ञान र प्रकाश प्रविधिको क्षेत्रमा योगदान पुर्याएको छ ।
उनको पीएचडी प्रोफेसर डा. भवानी दत्त जोशीको सुपरिवेक्षणमा र आर. प्रविणाको सह–मार्गदर्शनमा सम्पन्न भएको हो। अनुसन्धानको क्रममा उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा आफ्ना अनुसन्धान लेखहरू प्रकाशित गरेकी छन् ।
डा. उपाध्यायले राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानबाट अनुसन्धानको लागि फेलोशिप समेत प्राप्त गरेकी थिईन् । फेलोशिपअन्तर्गत गरिएको अनुसन्धान कार्यले विद्यावारिधिमा उत्कृष्ट योगदान पुर्याएको छ।
२०६६ सालमा कैलाली बहुमुखी क्याम्पसमा सहायक प्राध्यापकको रूपमा शिक्षण सेवा सुरु गर्नुभएकी उपाध्याय हाल सोही क्याम्पसमा विज्ञान संकाय प्रमुखको रूपमा कार्यरत छिन् ।
विगत डेढ दशकदेखि विज्ञान शिक्षामा सक्रिय रहँदै आउनु भएकी उहाँको समर्पण, अनुसन्धान प्रतिको रुचि र नेतृत्व क्षमताले शैक्षिक क्षेत्रमा प्रेरणादायी योगदान पुर्याएको छ। शैक्षिक वृत्तमा उहाँको यो सफलता प्रसंशायोग्य मात्र नभई सुदूरपश्चिमका भावी अनुसन्धानकर्ता तथा महिला वैज्ञानिकहरूका लागि प्रेरणाको स्रोतसमेत बनेको छ।
क्याम्पसी पहिलो महिला भौतिक शास्त्री डा. उपाध्यायलाई सम्पूर्ण शैक्षिक समुदायले हार्दिक बधाई तथा आगामी सफलताको शुभकामना व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया