भन्सार छलि ल्याएका १ लाख १७ हजार रुपैयाँ बराबरका सामान बरामद
मंगलबार बैशाख ३०, २०८२/ Tuesday 05-13-25
Paschim Today

कैलाली । कैलाली जिल्लाको विभिन्न स्थानहरूबाट भन्सार छलि गरी भारतबाट अवैध रूपमा ल्याइएका करिब १ लाख १७ हजार रुपैयाँ बराबरका सामानहरू प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी गस्ती टोलीले धनगढी उपमहानगरपालिका–३ ब्यारेल, गेटा क्षेत्र अन्तर्गत ऐश्वर्य गाउँपालिका–७ मनेहरा र टीकापुर नगरपालिका–७ सत्तिबजार क्षेत्रमा सडक खण्डबाट उक्त सामग्रीहरू बेबारिसे अवस्थामा फेला पारेका हुन्।
प्रहरीका अनुसार बरामद सामानहरूमा प्याज, मिश्री, धूप, ताला, कुर्ती, सुरवाल, प्लास्टिक झिल्लीलगायतका सामग्रीहरू रहेका छन्। यी सबै सामग्रीको अन्दाजी मूल्य रु १ लाख १७ हजार ३१० रहेको बताइएको छ।
प्रहरीले सामानहरू आवश्यक अनुसन्धान र प्रक्रिया अघि बढाउन सम्बन्धित निकायमा बुझाएको जनाएको छ।
तपाईको प्रतिक्रिया