सुदूरपश्चिमको नीति तथा कार्यक्रम : रोजगारी सिर्जनादेखि पर्यटन प्रवर्द्धनसम्म प्राथमिकता

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले रोजगारी सिर्जना गर्नेदेखि पर्यटन प्रवर्द्धनलाई प्राथमिकता राखेर आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार बसेको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख नजिर मियाँले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
प्रदेश सरकारले यस वर्ष पनि बेरोजगारी हटाएर रोजगारी सिर्जना गर्ने, मुख्यमन्त्री गरिबी निवारण तथा लघु उद्यम कार्यक्रम सञ्चालन गर्ने, र गैरआवासीय नेपालीलाई लगानी गर्न प्रोत्साहित गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।
स्थानीय कच्चा पदार्थको अधिकतम उपयोग गर्दै उद्योग स्थापना गरिनेछ । डुडेझारी, कैलालीमा प्रदेश स्तरीय औद्योगिक क्षेत्र निर्माण गरिने र ‘एक जिल्ला, एक उद्योग’ नीति पनि निरन्तरता पाउनेछ ।
कृषिलाई संरक्षित क्षेत्र घोषणा गर्दै उत्पादन र बजारीकरणमा जोड दिइनेछ । व्यवसायिक कृषकलाई बैंक, वित्तीय संस्था र सहकारीमार्फत कृषि कर्जामा ब्याज अनुदान दिइने नीति लिइएको छ । ‘एक स्थानीय तह, एक उत्पादन’ कार्यक्रमअन्तर्गत तीन वर्षभित्र सबै पालिकामा पकेट क्षेत्र निर्माण गरिने लक्ष्य राखिएको छ ।
नदी बगर, बाझो तथा सरकारी जमिनलाई खेतीयोग्य बनाइने र पशुपन्छीमा पूर्ण खोप कवरेज ल्याउने अभियान समेत सञ्चालन गरिनेछ ।
पर्यटन प्रवद्र्धनका लागि बाकाबिर पर्यटन कार्यक्रम सञ्चालन, खप्तड, बडिमालिका, मालिकार्जुन, सिगासधाम र रामारोशन क्षेत्रमा केबलकार स्थापनाको सम्भाव्यता अध्ययन गरिनेछ। होटल तथा लज सञ्चालनमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने र प्रादेशिक पर्यटन प्रवद्र्धन बोर्ड स्थापना गर्ने योजना पनि ल्याइएको छ ।
प्रदेश गौरवका योजनाहरू सम्पन्न गरिने, बाँकी योजनाको समिक्षा गरी पुनरावलोकन गरिने नीति लिइएको छ । सडक दुर्घटना न्यूनीकरण कार्यक्रम र एकीकृत बस्ती विकास आयोजना कार्यान्वयनमा पनि सरकारको ध्यान केन्द्रित हुने भएको छ ।
सवारी चालक अनुमति पत्रको राजस्व भुक्तानी अनलाइनमार्फत हुने र यातायात कार्यालयको सेवा दर्ता तथा नवीकरण लगायतमा विस्तार गरिने उल्लेख गरिएको छ ।
तपाईको प्रतिक्रिया