गौरीगंगा १० लाई बालमैत्री वडा घोषणाको तयारी: सरोकारवालाद्वारा अनुगमन 

शनिबार जेठ १८, २०८२/ Saturday 05-31-25
Paschim Today

कैलाली । बालमैत्री स्थानीय शासन प्रवर्द्धनका लागि गौरीगंगा नगरपालिका–१० लाई बालमैत्री वडा घोषणाको तयारीस्वरूप सरोकारवाला निकायहरूले संयुक्तरूपमा अनुगमन गरेका छन्। जिल्ला समन्वय समिति कैलालीका उपप्रमुख खगराज भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न अनुगमन टोलीमा विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरू सहभागी थिए।

अनुगमनका क्रममा सरस्वती माध्यमिक विद्यालयमा बालमैत्री कक्षा सञ्चालनको अवस्था, खानेपानीको पहुँच, शौचालय र स्यानिटरी प्याड डिस्पोजल व्यवस्था, अपांगमैत्री सार्वजनिक संरचना, स्वास्थ्य चौकीको पहुँच, बाल क्लब तथा अभिभावकको भूमिकाबारे स्थलगत अवलोकन गरिएको थियो।

उपप्रमुख भुसालले बालमैत्री स्थानीय शासन सुनिश्चित गर्न स्थानीय तह, समुदाय र सरोकारवाला सबै पक्षले दिगोपनामा जोड दिनुपर्नेमा बल दिए। 'बालमैत्री शासन एक पटक घोषणाले मात्र सम्भव हुँदैन, यसलाई निरन्तरता र स्थायित्वका साथ अगाडि बढाउनुपर्छ,' उनले भने।

वडा नं १० का वडाध्यक्ष नरसिंह सार्कीले पछिल्लो एक वर्षको अवधिमा बालमैत्री वडाका लागि विभिन्न चरणमा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिँदै भने, ूखुला दिसामुक्त अभियान जस्तै यो पनि चुनौतीपूर्ण छ, तर सम्भव छ। वडालाई बालमैत्री बनाउन हामी प्रतिबद्ध छौँ।ू

गौरीगंगा नगर प्रमुख देवीदत्त कडेल, उपप्रमुख भोजबहादुर बम, वल्र्ड भिजन इन्टरनेशनल नेपालका जिल्ला संयोजक मंगल शाह, जिल्ला शिक्षा समन्वय इकाइ, महिला तथा बालबालिका शाखा, जिल्ला प्रहरी कार्यालयलगायतका प्रतिनिधिहरू सहभागी उक्त अनुगमनमा बालमैत्री सूचकहरू पूरा गर्ने कार्यको प्रगति मूल्यांकन गरिएको थियो।

गौरीगंगा–१० लाई बालमैत्री वडा घोषणाको तयारीमा रहेको र सरोकारवालाको सहकार्यमा अब छिट्टै घोषणा गरिने जनाइएको छ।