नेपाल वायुसेवा निगममा भएको भ्रष्टाचारविरुद्ध अख्तियारमा उजुरी दर्ता

मंगलबार जेठ २१, २०८२/ Tuesday 06-03-25
Paschim Today

काठमाडौं- राष्ट्रिय मातृभूमि पार्टीले आज मंगलबार नेपाल वायुसेवा निगममा भएको भ्रष्टाचारविरुद्ध कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको छ।

राष्ट्रिय मातृभूमि पार्टीका अध्यक्ष रामशरण पाण्डेको अध्यक्षतामा गएको टोलीले उजुरी दर्ता गराएको हो। वर्षौँदेखि भ्रष्टाचार मौलाउँदै गएको नेपाल वायुसेवा निगममा कुनै पनि अधिकारीहरू माथि कारबाही हुन नसको हुँदा भ्रष्टाचारी विरुद्ध उजुरी दर्ता गराउन पार्टी बाध्य भएको अध्यक्ष पाण्डेले बताए ।

नेपाल र नेपालीको कीर्ति एवं गौरव छिटो माध्यमद्वारा संसारभर प्रक्षेपण गर्ने मूल बाहकको परिचायक हाम्रो हवाई उड्डयन र राष्ट्रिय ध्वजावाहक पञ्चायत कालपछि पनि दिनानुदिन कुशासनको चंगुलमा पर्दै व्यवस्थापन कमजोर हुँदै गएकोले धमिजाकाण्ड, लाउडा काण्ड, चेज एयर काण्ड, वाइड बडी काण्ड, साउथ चाइना काण्ड, विभिन्न समयमा भएका इन्जिन मर्मत काण्ड र बेलैमा जहाज मर्मत नगरी कुबेलामा भूमिस्थ गर्ने जस्ता अनगिन्ती बेथिति र भ्रष्टाचारका प्रकरणबाट हाम्रो ध्वजावाहकले आन्तरिक र बाह्य उडानमा गति लिन नसकेको भन्ने ठम्याइ रहेको पार्टीको जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यस्तो विषयलाई समाधान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धरको समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा दिएको प्रतिवेदन, २०८१ का सुझावहरू तत्काल लागु गर्न मिति २०८२ ज्येष्ठ १३ गते ध्यानाकर्षण गराई यस पार्टीले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्षलाई ज्ञापन पत्र बुझाएको थियो। 

आज उजुरी दर्ता गराउन गएका पार्टीका सदस्यहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयको मूल ढोका अगाडि विभिन्न नारा सहितको प्लेकार्ड लिएर शान्तिपूर्ण प्रदर्शन गरेका थिए।