आसाममा बाढीका कारण १५०६ गाउँ डुबानमा, छ लाख बढी प्रभावित हुँदा १८ जनाको मृत्यु

एजेन्सी : भारतको आसाम राज्यमा निरन्तर वर्षापछि आएको बाढीका कारण अवस्था झन् खराब हुँदै गइरहेको छ। बाढीको पानी विभिन्न क्षेत्रमा फैलँदा जनधनको क्षति बढ्दै गएको छ।
पछिल्लो विवरण अनुसार, बाढीका कारण हालसम्म ६ लाख ३३ हजारभन्दा बढी मानिस प्रभावित भएका छन् भने मृत्यु हुनेको संख्या १८ पुगेको छ।
आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरणको प्रतिवेदन अनुसार, राज्यका २१ जिल्लाका १५०६ गाउँहरू डुबानमा परेका छन्।
पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएसँगै बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या बढेर १८ पुगेको हो। यसमध्ये अधिकांश मृत्यु पछिल्लो पाँच दिनमा भएको प्राधिकरणले जनाएको छ।
विपद् विभागले जारी गरेको पछिल्लो प्रतिवेदन अनुसार, बाढीबाट ६ लाख ३३ हजारभन्दा बढी मानिस प्रत्यक्ष प्रभावित भएका छन्। बाढीका कारण विस्थापित भएका करिब ४० हजार मानिसलाई राज्यका विभिन्न भागमा खोलिएका ५११ राहत शिविरहरूमा आश्रय दिइएको छ।
विशेष गरी करीमगञ्ज जिल्लामा बाढीको प्रभाव बढी देखिएको छ, जहाँ मात्र ९४ हजारभन्दा बढी मानिस प्रभावित भएका छन्।
आसामका साथै विगत केही दिनदेखि भइरहेको निरन्तर वर्षाका कारण भारतको उत्तर-पूर्वी क्षेत्रका अन्य राज्यहरू पनि बाढी र पहिरोको चपेटामा परेका छन्। मणिपुरमा पनि अवस्था गम्भीर रहेको र त्यहाँ १ लाख ६० हजारभन्दा बढी मानिस प्रभावित भएको बताइएको छ।
यसैबीच, भारतीय मौसम विभागले भोलिसम्म आसाम, मेघालय, नागाल्याण्ड, मणिपुर, मिजोरम र त्रिपुरामा भारी वर्षा जारी रहने चेतावनी दिएको छ। यसले गर्दा बाढीको अवस्था थप बिग्रन सक्ने चिन्ता बढेको छ।
तपाईको प्रतिक्रिया