भूमि विभागको नयाँ निर्देशन : घरजग्गा खरिदबिक्रीमा बैंक स्टेटमेन्ट अनिवार्य

बुधबार जेठ २२, २०८२/ Wednesday 06-04-25
Paschim Today

काठमाडौं– अब घरजग्गा किनबेच गर्दा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटमेन्ट अनिवार्य रुपमा पेस गर्नुपर्ने भएको छ।

भूमि व्यवस्था तथा अभिलेख विभागले मंगलबार सार्वजनिक गरेको ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०८२’ मा उक्त व्यवस्था गरिएको हो।

नेपाल हाल एप-एफ-ए-टी-एफ (APG-FATF) को ग्रे लिस्टमा परेको छ। सो सूचीबाट बाहिरिनका लागि नेपालले दुई वर्षको समयसहित कार्ययोजना तय गरिसकेको छ। त्यसै कार्ययोजना अन्तर्गत विभागले सम्पत्ति शुद्धीकरणसम्बन्धी यो निर्देशन जारी गरेको हो।

निर्देशन अनुसार, घरजग्गा खरिदबिक्रीको कारोबार गर्दा सूचक संस्थाले खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको खातामा कारोबार बराबरको रकम जम्मा भएको प्रमाण कागजातसहित संलग्न गर्नुपर्नेछ।

१० लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको कारोबार अनिवार्य रूपमा बैंकिङ प्रणाली वा विद्युतीय भुक्तानी प्रणालीमार्फत गर्नुपर्नेछ। ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भने विद्युतीय प्रणाली वा गुड फर पेमेन्ट (Good for Payment) चेकमार्फत मात्रै गर्न पाइनेछ।

त्यसैगरी, यदि स्थानीय तहले प्रमाणित गरेको बैनाबट्टाको कागजात पेश गरिएमा र त्यसमा १० लाख रुपैयाँभन्दा बढीको रकम उल्लेख गरिएको भए, उक्त रकम पनि खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको खातामा विद्युतीय प्रणालीमार्फत गएको प्रमाण पेस गर्नुपर्नेछ।