नेदरल्यान्ड्समाथि नेपालकाे शानदार जित

बिहीबार जेठ २३, २०८२/ Thursday 06-05-25
Paschim Today

काठमाडौं । विश्वकप लिग २ अन्तरगत स्कटल्याण्डमा जारी श्रृंखलामा नेपालले लगातार दाेस्राे जित हात पारेकाे छ ।

मध्यक्रमका ब्याट्सम्यान आरिफ शेखकाे प्रेरणादायी ब्याटिङमा नेपालले बलियाे नेदरल्यान्ड्सलाई पाखा लगायाे । ब्याटिङका लागि कठिन पीचमा २२६ रनकाे मध्यम लक्ष्य पछ्याएकाे नेपाललाई ५ विकेटकाे जित दिलाउन आरिफले ७८ रनकाे उत्कृष्ट इनिङ खेले ।

उनले २ छक्का र ७ चाैका प्रहार गरेका थिए । आरिफलाई दीपेन्द्रसिंह ऐरीले बलियाे साथ दिए । आरिफ र दीपेन्द्रबीच भएकाे ८९ रनकाे साझेदारी नै नेपालका लागि निर्णायक बन्याे ।

संयमित ब्याटिङ गरेका दीपेन्द्रले ५१ बलमा ३ चाैकासहित ३८ रन बनाए । ४७.१ ओेभरमा गुल्शन झाले छक्का हान्दै नेपाललाई मिठाे जित दिलाएका थिए ।

नेपालले ब्याटिङमा मध्यम सुरूवात गरेकाे थियाे । ओपनर जाेडी आसिफ शेख र कुशल भुर्तेलले पहिलाे विकेटका लागि ३२ रनकाे साझेदारी गरे । आसिफ १९ र कुशल २५ रन बनाएर आउट भए । त्यसैगरि भीम सार्की र राेहित पाैडेलले क्रमशः ११ र २३ रन जाेडे । राेहित दुर्भाग्यपुर्ण रनआउट हुँदा नेपाल केही दवावमा देखिएकाे थियाे । तर त्यसपछि आरिफ र दीपेन्द्रले नेपाललाई सम्हाले ।