कैलालीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुई घाइते

बिहीबार जेठ २३, २०८२/ Thursday 06-05-25
Paschim Today

कैलाली, कैलालीको घोडाघोडी नगरपालिका–१ स्थित भालुफटा क्षेत्रमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

पूर्व–पश्चिम राजमार्गमा भएको उक्त दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार घोडाघोडी नगरपालिका–२ निवासी २४ वर्षीय राधेश्याम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार, घोडाघोडी नगरपालिका–३ का २१ वर्षीय शंकर चौधरीले चलाएको से ६ प ४४३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको बायाँ किनारमा बिग्रिएर रोकिएको सुदूरपश्चिम प्रदेश ०१–००२ त ५१५८ नम्बरको ट्रयाक्टरको ट्रालीमा ठोक्किएको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले गम्भीर घाइते भएका राधेश्याम चौधरीको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जानकारी दिए। दुर्घटनामा मोटरसाइकल चालक शंकर चौधरी गम्भीर घाइते भएका छन्।

प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल रिफर गरिएको छ। सोही मोटरसाइकलमा सवार २२ वर्षीय अर्जुन चौधरीको बायाँ खुट्टाको घुँडामा चोट लागेको छ र उनको उपचार घोडाघोडी अस्पतालमा भइरहेको छ। प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।