एसपीए कलेजद्वारा ‘अपि शिक्षा परियोजना’ घोषणा, दुई जेहेन्दार विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

आइतबार जेठ २६, २०८२/ Sunday 06-08-25
Paschim Today

धनगढी । सुदूर पश्चिमाञ्चल एकेडेमी (एसपीए कलेज) धनगढीले सुदूरपश्चिमका ग्रामीण तथा सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरूका लागि ‘अपि शिक्षा परियोजना’ घोषणा गरेको छ। उक्त परियोजनाअन्तर्गत दुई जना विद्यार्थीलाई कक्षा ११ देखि स्नातक तहसम्म पूर्ण छात्रवृत्तिको व्यवस्था गरिने कलेजले जनाएको छ। 

कलेजका अनुसार विद्यार्थीले चाहे स्नातक पछि पनि बेलायत गएर पढ्न सक्नेछन् । ०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका एक जना छात्र र एक जना छात्रालाई आवाससहितको पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ। कलेजले मानविकी तथा आर्ट्स सङ्कायमा अध्ययन गर्न चाहने विद्यार्थीलाई प्राथमिकता दिने जनाएको छ। इच्छुक विद्यार्थीहरूले यही असार १५ गतेभित्र आवेदन दिनुपर्नेछ।

एसपीए कलेजका क्याम्पस प्रमुख योगराज गौतमले छात्रवृत्तिको उद्देश्यबारे जानकारी दिँदै भने, “आर्ट्स विद्यार्थीहरू प्रायः अन्तिम रोजाइमा पर्ने गरेका छन्। जिपिए कम भयो भने मात्रै आर्ट्स पढ्ने गरिन्छ। तर यो छात्रवृत्तिले आर्ट्स र मानविकी सङ्कायमा रुचि राख्ने विद्यार्थीहरूलाई प्राथमिकतामा राखेको छ ।”

छात्रवृत्ति कार्यक्रम  इंग्ल्यान्ड निवासी वाल्टर्स दम्पती (कृष वाल्टर्स र उनकी श्रीमती) द्वारा प्रायोजित गरिएको हो। कृष वाल्टर्सले एसपीए कलेजमा तीन महिनासम्म  ड्रामा प्रशिक्षक भएर सेवा दिएका थिए। साथै, उनीहरूले सुदूरपश्चिमको अपि हिमाल आधार शिविर यात्रा गरेपछि यहाँका ग्रामीण बालबालिकाको क्षमता, सङ्घर्ष र सपना देखेर प्रभावित भई ‘अपि शिक्षा परियोजना’ सुरु गरेका हुन्।

बझाङका पत्रकार बसन्त प्रताप सिंहले यो छात्रवृत्ति अभियानलाई उल्लेखनीय भएको बताएका छन् । उनले भने, “दुर्गमका बालबालिकाको आँखामा सपना त छ, तर आर्थिक अभावमा ओझेलमा परिरहेका छन्। त्यस्ता विद्यार्थीका लागि यो छात्रवृत्ति अभियान महत्त्वपूर्ण छ। एसपीएले यस्ता कार्यक्रमलाई निरन्तर अघि बढाउनु पर्छ।”

एसपीए कलेज सुदूरपश्चिमकै पहिलो एमएसटी स्मार्ट कलेज हो, जसले शिक्षासँगै खेलकुद, संस्कृति, वातावरण संरक्षण, महिला सशक्तीकरण र सामुदायिक सेवामा विशेष ध्यान दिँदै आएको छ। कलेजका अनुसार हालसम्म ३ दर्जनभन्दा बढी विदेशी स्वयंसेवकहरूले विभिन्न विधामा समन्वय गरी काम गरिसकेका छन्।

कलेज प्रशासनका अनुसार, यो छात्रवृत्ति कार्यक्रम ६ वर्षसम्म निरन्तर सञ्चालन हुनेछ र प्रत्येक वर्ष दुई जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ। छनोट प्रक्रियामा शैक्षिक योग्यता, आर्थिक अवस्था, सामाजिक पृष्ठभूमि र व्यक्तित्वलाई मूल्याङ्कन गरिनेछ।