१२ देशका नागरिक आजदेखि अमेरिका प्रवेश गर्न नपाउने

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ वटा देशका नागरिकमाथि लगाएको यात्रा प्रतिबन्ध आजदेखि लागू भएको छ । ट्रम्पले गएको हप्ता १२ वटा देशका नागरिकलाई अमेरिका प्रवेशमा पूर्ण रूपमा प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गर्नुभएको थियो ।
ट्रम्पले अफगानिस्तान, म्यानमार, चाड, कङ्गो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकलाई यात्रा प्रतिबन्ध लगाउनुभएको छ । यस्तै बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला गरी ७ वटा देशका नागरिकलाई पनि अमेरिका प्रवेशमा आंशिक रूपमा प्रतिबन्ध लगाइएको छ ।
राष्ट्रपति ट्रम्पले यो यात्रा प्रतिबन्धलाई राष्ट्रिय सुरक्षाको विषय भन्नुभएको छ । यो कदमले शरणार्थी मार्गहरूमा बाधा पुर्याउने र ट्रम्प प्रशासनले अवैध प्रवेशमाथिको कारबाहीलाई विस्तार गर्दै अध्यागमनलाई थप प्रतिबन्धित गर्ने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
ट्रम्पको यात्रा प्रतिबन्धमा परेका इरान र अफगानिस्तानजस्ता धेरै देशको अमेरिकासँग शत्रुतापूर्ण सम्बन्ध छ भने हैटी र लिबियाजस्ता देशले गम्भीर सङ्कटको सामना गरिरहेका छन् ।
तपाईको प्रतिक्रिया