सुदूरपश्चिमको नीति कार्यक्रमबारे माओवादी सांसद भाटको टिप्पणी- योजना बेच्छन्, छानबिन छैन

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथि माओवादी केन्द्रका सांसद ओम विक्रम भाट (सरल) ले कडा टिप्पणी गरेका छन् ।
प्रदेशसभा बैठकमा बोल्दै सांसद भाटले नीति कार्यक्रमलाई ‘फुलबुट्टा भरिएको खोक्रो दस्तावेज’ भन्दै सरकारको उद्देश्य, प्रक्रिया र कार्यान्वयन क्षमतामाथि प्रश्न उठाए ।
उनले भने, ‘सरकार कुनै वैचारिक आधारमा होइन, स्वार्थको गठबन्धनबाट बनेको हो। संघमा जसरी संख्या र गठजोडको घमण्डमा काम भइरहेको छ, त्यसैको नक्कल सुदूरपश्चिममा भइरहेको छ ।’
भाटले प्रदेशसभा सदस्यहरूमाथि योजना बिक्रीको आरोप लागिरहँदा पनि छानबिन प्रक्रिया अघि नबढ्नु दुःखद भएको बताए । योजनाको विषयमा खुलेआम आलोचना भइरहे पनि सरकार गम्भीर नदेखिएको भन्दै उनले भने, ‘यहाँ योजना बेच्छन् भन्ने आरोप खुलेआम लागिरहेको छ, तर छानबिन छैन ।’
उनले थपे, ‘यदि सरकार यति नै शुद्ध छ भने संसदीय छानबिन समिति गठन गर्न कसले रोक्यो ?’
भाटले पछिल्लो समय सार्वजनिक भएका सत्तापक्षीय सांसदहरूका अडियो प्रकरणहरूलाई पनि उठाए । उनले भने, ‘सत्ता पक्षका अडियोहरू सार्वजनिक भए, सदन अबरुद्ध भयो, तर अन्ततः विषय सामसुम पारियो ।’
उनले प्रतिपक्षमाथि पनि आरोप लगाउँदै भने, ‘तारिफ गरौँ भने भोलि रातो किताबमा समावेश नहुने डर छ, आलोचना गरौँ भने बजेट नआउने डर। त्यसैले प्रतिपक्ष पनि मौन छ ।’
राष्ट्रवादको सन्दर्भमा सांसद भाटले हालैको पतञ्जली प्रकरण र दार्चुला सीमाक्षेत्रमा भएको गतिविधिको उदाहरण दिँदै सरकारमाथि प्रश्न उठाए ।
‘दार्चुलामा भारतले डोजर चलाउँछ, सरकार चुप लाग्छ । पतञ्जली प्रकरणमा साना कर्मचारीलाई मात्रै मुद्दा लाग्छ, रामदेव र बालकृष्णलाई उन्मुक्ति दिइन्छ’, उनले भने ।
तपाईको प्रतिक्रिया