सांसदले गल्ती गर्ने अनि कर्मचारीहरूलाई दोष देखाउने प्रवृत्ति गलत छ : सुमना श्रेष्ठ

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संसदीय समितिमा सांसदहरूले प्रतिवेदन नपढी बैठकमा बोल्ने र गल्ती हुँदा जिम्मेवारी कर्मचारीमाथि थोपर्ने प्रवृत्तिलाई आपत्तिजनक भन्दै आलोचना गरेकी छिन्।
मंगलबार सभामुखसँग भएको छलफलपछि बोल्दै उनले कुलिङ पिरियडसम्बन्धी विवादमा सांसदहरूले विधेयक राम्रोसँग नबुझी बोलेको टिप्पणी गरिन्। ‘मूल विधेयकमा ‘बाहेक’ भन्ने शब्द हटाइएन, त्यो कायम नै रह्यो,’ उनले भनिन्, ‘गल्ती कर्मचारीले होइन, सांसदहरूले नै गरेका हुन्। तर दोष भने कर्मचारीलाई देखाएर उम्किन खोज्ने प्रयास भयो।’
श्रेष्ठले कतिपय सांसदहरू मिडियामा आएका समाचार वा कुनै नेताले बोलेको कुरा आधार बनाएर बैठकमा टिप्पणी गर्ने गरेको भन्दै उक्त काम संसदीय मर्यादाविपरीत रहेको बताइन्। ‘नपढी बोल्ने संस्कृति नै गलत हो। यसले संसदको गरिमा घटाउँछ,’ उनले भनिन्।
उनले गल्तीलाई स्वीकार गरेर मात्र सुधारको बाटो खुल्ने बताइन्। ‘गल्ती हुँदैन भन्ने होइन,’ श्रेष्ठले भनिन्, ‘तर गल्ती कहाँबाट भयो भनेर बुझ्नुपर्ने र त्यसपछि मात्र सुधारतर्फ लाग्न सकिने हो।’
तपाईको प्रतिक्रिया