राज्यले थारुलाई नेपाली नमानेको रेशम चौधरीको गुनासो

शनिबार असार ७, २०८२/ Saturday 06-21-25
Paschim Today

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले राज्यले थारुलाई नेपाली नमानेको बताएका छन् । उनले थारुहरूले आफू पनि नेपाली हो भन्दा समेत राज्य मान्न तयार नरहेको गुनासो गरे । 

उनले भने– ‘मलाई डिल्लीबजार सदरखानामा थुनेको होइन, थारुको पहिचानलाई थुनेको हो, एक पटक होइन, थारुको पहिचान मेटाउने गरी पटक पटक थुनेको हो त्यसैले अब आफ्नो पहिचानका लागि जाग्नुपर्ने बेला आएको छ ।’

काठमाडौँमा आयोजित बृहत् थारु सांस्कृतिक कार्यक्रममा बोल्दै संरक्षक चौधरीले भने, ‘म राजनीतिक व्यक्ति होइन, मलाई जबरजस्ती बनाइएको हो, म सांस्कृतिक व्यक्ति हुँ ।’ 

यो राज्यले थारुमाथि गरेको अन्यायको बयान समेत गर्न नसकिने बताउँदै उनले टिकापुर घटनाले थुप्रै थारु चेलीबेटीको चिर हरन गरेको भन्दै दुःख व्यक्त गरे । सो घटनामा सयौँ मोटरसाइकल र साइकल जलाउने कार्य भयो तर त्यसका लागि कोही पनि नबोलेको उनले गुनासो गरे । 

टिकापुर घटनामा आफू संलग्न नभए पनि राज्यले थुनेको गुनासो गर्दै उनले भने, ‘मैले जेलबाट नै राज्यलाई गीतको माध्यमबाट प्रश्नहरू गरेको छु ।’