जीवनका चार धाम

आइतबार असार ८, २०८२/ Sunday 06-22-25
Paschim Today

जिन्दगीका चार तीर्थयात्रा जहाँ न कुनै रेल छ, न सवारी, तर त्यहाँ पुग्न आत्मा चाहिन्छ, माया चाहिन्छ, सम्बन्ध चाहिन्छ। 

पहिलो धाम :आमाको काख

जहाँ संसारका सबै पीडा हराउँछन्। त्यो काखमा न निद्रा खोज्नुपर्छ, न सुरक्षा,त्यो त यस्तो स्वर्ग हो, जहाँ आत्मा पहिलो पटक शान्ति पाउँछ।

दोस्रो धाम : बुवाको छाँया

बुवाको छाँया जहाँ घामको ताप लाग्दैन, जहाँ अभावको आँधी आइहाल्दा पनि एउटा ढाल बनेर उभिनुहुन्छ उहाँ। बुवा भनेको नदेखिने भगवान् हुन्, जो दिनरात निःशब्द रूपमा आफ्ना सन्तानको जीवन बनाइरहेका हुन्छन्।

तेस्रो धाम : दिदी बहिनीको माया

भाइको लागि दिदी बहिनीको माया राखीको धागो मात्र होइन, त्यो त जीवनको रक्षा कवच हो। संसार चलायमान हुँदा, एकपटक घर फर्केर त्यो अनुहार हेर्दा कहिल्यै नटुट्ने साथ र आत्मीयता सम्झिन्छौं।

चौथो धाम : जीवनसङ्गिनीको साथ र सन्तानको मुस्कान

जीवनसङ्गिनीको साथ र सन्तानको मुस्कानले जीवनको थकाइ मेटिन्छ, जहाँ प्रेम शब्दहरूभन्दा धेरै गहिरो भावनामा बग्दछ। सन्तानको एउटा हासोले, सबै दुःख भुलिन्छ । जीवनमा थकित शरीर र दुखेको हृदयलाई पत्नीको प्रेमले मलम लगाउँछ र सन्तानको खुशीले न्यानोपन दिन्छ।

यी चार धाम पुग्न पहाड चढ्नुपर्दैन, तर पहाड जत्तिकै ठूलो त्याग, सहनशीलता, माया र आत्मसमर्पण चाहिन्छ किनकि जीवनको सबैभन्दा पवित्र मन्दिर कुनै भवन होइन,त्यो त यी सम्बन्धहरू भित्र लुकेको भावनाको मूर्तरूप हो।

यात्रा त सधैँ हुन्छ — तर चार धामजस्तो यात्रा आत्मालाई तृप्त पार्ने मात्र थोरैले गर्छन्।यदि तिमीले यी चार धामलाई जीवनमा साँचो अर्थमा पाएको छौ भने,तिमी संसारकै सबैभन्दा धनी व्यक्ति हौ।

(लेखक: जिबन जङ्ग सिहं बझाङ )