संघर्षले खारिएका डिल्ली

बुधबार असार ११, २०८२/ Wednesday 06-25-25
Paschim Today

सफलताको मानक घर, गाडी, बैंकमा मौज्दात सम्पत्तीलाई ठान्ने हो भने उनी त्यसभित्र पर्दैनन् । अझ ग्याँस स्टेशन, लिकर्स शप, रेष्टुरेण्टको संख्यालाई मान्छेको सफलता ठान्ने अमेरिकामा उनले बाँचेको जीवन, संघर्ष र उपलब्धी धेरैका लागि प्रेरणादायी छ । 

उनले बाँचको जीवन फिल्मको कथा जस्तै छ । उनले बेहोरेको अभाव, भोक र अनिन्द्राका अपत्यारिला पाटाहरु सुनेपछि लाग्छ, समय र नियतिका हजार चोट खाएर जो उभिईरहन्छ, त्यसैले प्राप्त गर्छ, असाधारण सफलता । डिल्ली कोईराला तिनै मध्ये एक हुन् ।

२५ सेप्टेम्बर १९६८ मा बुद्ध शान्ति गाउँपालिका–१ शान्ति चौक झापाको कोईराला परिवारमा जन्मिएका उनी माहिला सन्तान थिए । त्रिलोचन कोईराला र रमादेवी कोईरालाका सात सन्तान थिए । चार छोरा । तीन छोरी ।

आमाको निधन हुदा उनी १३ वर्षका थिए । बुवा धानचामलको व्यापार गर्थे । क्यान्सरबाट ग्रसित बिरामी आमाको महिनौ लामो उपचारका क्रममा भएभरको जायजेथा सकियो । आमा बाँचिनन् । सिलगुडीमै उपचारका क्रममा आमाको मृत्यु भयो । 

२०४२ सालमा बुद्ध आदर्श माविमा ८ कक्षामा पढ्दै थिए । कृषि विकास बैंकको म्यानेजरले पढाई दिने भन्दै उनलाई काठमाण्डौं लगे । तर म्यानेजरले काममा लगाए । स्कुल पठाएनन । दाईले यो कुरा थाह पाए । डिल्लीलाई लिएर दाई झापा फर्किए ।

उनले झापाबाट दुई वर्षपछि एसएलसी दिए । त्यसलगत्तै सुटुक्क काठमाण्डौ हानिए । खल्तीमा हजार रुपैया थियो । त्यो पनि आफैले कमाएको । बस भाडामा एक सय २५ रुपैया खर्च भयो । साथी थिए, नरेन्द्र श्रेष्ठ । श्रेष्ठका भाई पाटन औद्योगिक क्षेत्र भित्र काम गर्थे । उनी श्रेष्ठसंगै त्यहाँ गए । काम नपाएपछि दुई दिनपछि निस्किए । 

झापाका कुमार बुढाथोकी जलस्रोत सहायक मन्त्री थिए । उनले जागीर लगाई दिन बुढाथोकीसंग आग्रह गरे । बुढाथोकीले नेपाली सेनामा भनिदिए । शरीरमा दुबी भएकाका कारण उनी छनौट भएनन् । नेपाली सेनामा भान्सेको काम भने पाए । सेनाको कडा अनुशासन चित्त नबुझेपछि डेढ महिनापछि त्यो जागीर छोडेर हिडे ।

उनी दिनभरी कामका लागि भौतारिन्थे । रात परेपछि डिल्लीबजारको ओरालोमा पाटीमा पुग्थे । साथमा एउटा व्याग । व्याग भित्र एक जोर लुगा । साथमा भएको पैसा सकिदै थियो । चिउरा र पानी खायो । व्यागलाई सिरानी बनायो । सुत्यो । चार दिन यसैगरी बिते ।

पाँचौ दिन पुतली सडकको सेकुवा कर्नरमा भाडा माझ्ने काम पाए । दुई महिनापछि वेटर भए । तलव दुई सय रुपैया थियो । रेष्टुरेण्ट बन्द भएपछि दुई टेबल जोड्थे । त्यसैमाथि सुत्थे 
दुई महिनाको पैसा जम्मा गरे । सिरक र विछ्यौना किने । उनी वेटर भए । 

रेष्टुरेण्टका एक जना नियमित ग्राहक थिए । उनको कालिमाटीमा मोटर ग्यारेज थियो । छ महिनापछि उनी तिनै ग्राहकको ग्यारेजमा काम गर्न थाले । गाडीको काम सिके । ट्याक्सी चलाउन सिके । कोठा थिएन । गाडीमै सुत्थे । अढाई वर्षपछि उनी त्यहाँबाट पनि निस्किए । ट्याक्सी चलाउन थाले । केही समयपछि बसको लाईसेन्स लिए । ट्याक्सी छोडे । बसको सहायक भए । चालक थिए, हेटौडाका राम बहादुर ठक्कर । ठक्करकै सिफारिसमा उनले २०५० सालमा काठमाण्डौंबाट बस चलाउन पाए । 

उनको बस बुधवारे झापाबाट काठमाण्डौं चल्थ्यो । पछि बिरगञ्ज र कटारी चल्न थाल्यो । एक वर्षपछि त्यो पनि छोडे । उनी धुलिखेलको लोकल बस चलाउन थाले । उनको बस काठमाण्डौं बसपार्कबाट धुलिखेल जान्थ्यो । धुलीखेल स्कुलका विद्यार्थीहरु पनि उनको बसमा यात्रा गर्थे । एक छात्रा हरेक दिन बनेपासम्म यात्रा गर्थिन । अन्य बस चढ्थिनन् । उनकै बस कुर्थिन ।  

त्यही क्रममा उनको ती केटी संग माया बस्यो । उनी ८ कक्षामा पढथिन् । ती केटीको विहा हुन लागेको थाह पाए । भगाएर लगे । पुगे, झापा । क्षेत्रीको छोरीसंग विवाह गरेको भन्दै परिवारले वेवास्ता ग¥यो । फर्केर आए । काठमाण्डौं–बिरगञ्ज रुटमा बस चलाउन थाले । हेटौडामा कोठा लिए । श्रीमतीलाई त्यही राखे ।

एक वर्षपछि उनी डा. होमनाथ दाहालको सम्पर्कमा पुगे । एशियन फर्मास्युटिकल्सका मालिक दाहालको वीर अस्पताल अगाडि मेडिकल पसल थियो । उनी दाहालको गाडी चलाउन थाले । केही समयपछि दाहालले फाईनान्सबाट ऋण लिएर ट्याक्सी किनिदिए । उनी त्यही ट्याक्सी चलाउन थाले । उनी आवश्यक परे मेडिकलको औषधी बोक्थे । 

छ महिनापछि जण्डिस भयो । ट्याक्सीलाई चालकको जिम्मा लगाए । र, गाउँ गए । फर्किदा ट्याक्सी ग्यारेजमा । चालक फरार । गाडी बिग्रिएको । फाईनान्सले गाडी तान्नुभन्दा पहिले नै दाहालको जिम्मा लगाए । र, लागे आफ्नो बाटो । 

१९९६ मा उनी हिमालयन शेर्पा एडभेञ्चरका मालिक फुर्पा ग्याल्जेन शेर्पाको सम्पर्कमा पुगे । उनी शेर्पाको टे«किङ कम्पनीमा गाडी चलाउन थाले । उनी विदेशी पर्यटकहरु बोक्थे । विदेशीको सम्पर्कमा पुगेपछि उनले अंग्रेजी भाषा सिके ।   

२००३ मा उनी फ्रेञ्च कम्पनी रेन्डोनेज हिमालयजमा जोडिए । त्यही कम्पनीबाट उनी २००८ मा फ्रान्स गए । फर्केर उनी टे«किङमै होमिए । 

२०१२ मा उनी अमेरिका पुगे । पर्यटक भीसामा क्रिसमसमा अमेरिका पुगेका उनी एसी शेर्पा कहाँ बसे । एसी टे«किङ कम्पनी चलाउथे । चार महिनापछि एसीको कम्पनीबाट पर्यटकहरुको दुई समूह लिएर उनी नेपाल फर्के । ती समूह फर्किएको डेढ महिनापछि उनी अमेरिका पुगे । 

हिमालयन शेर्पा एडभेञ्चरमा काम गर्दा उनको पेम्बा शेर्पासंग चिनजान भएको थियो । पेम्बाको अमेरिकाको कोलोराडोमा टे«किङ कम्पनी थियो । पेम्बा विदेशी पर्यटक लिएर नेपाल जान्थे । पेम्बाले उनलाई बोल्डर बोलाए । उनी सियाटलबाट कोलाराडो आए ।

बोल्डरमा पेम्बाको रेष्टुरेण्ट थियो । उनी त्यही काम गर्न थाले । पेम्बाको दिमागमा चिया उद्योग खोल्ने योजना थियो । रेष्टुरेण्टमा काम गरिरहेका डिल्लीलाई पेम्बाले योजना सुनाए । पेम्बासंग मिलेर उनले रेष्टुरेण्टमा ताप्केमा चिया बनाउन शुरु गरे । अमेरिकीलाई नेपाली स्वादको रेडिमेड चिया खुवाउने पेम्बाको सपना पुरा गर्न डिल्ली अहोरात्र खटिए । उनीहरुको परीक्षण सफल भयो । उनले एक वर्षभित्र खान मिल्ने गरी चियाको प्याक बजारमा ल्याए । जसलाई नाम दिए, शेर्पा चाय । 
२०१३ मा पेम्बाले शेर्पा चाय दर्ता गरे । चिया उद्योग सञ्चालनका लागि उनले तीन महिने माईक्रो बायोलिजी कोर्स गरे रेष्टुरेण्टभित्र ठूलो परिणाममा चिया उत्पादन संभव थिएन । वाहिर उद्योग खोले । पेम्बाले केही प्रतिशतको साझेदार बनाए । 

२०१५ मा शेर्पा चिया र होलफुडका बीचमा सहकार्यको शुरुवात भयो । एक वर्षपछि क्रोगरसंग । २०१६ को अन्तिमसम्म रेष्टुरेण्टमै चिया बनाए । चियाको माग बढ्दै गयो । त्यसपछि बाहिर उद्योग खोले । २०१७ मा खोलेको उद्योग एक वर्षपछि साँघुरो भयो । त्यसयता व्यापार विस्तार हुदै गएपछि चार वटा ठाउँमा उद्योग सारिसके । बोल्डरका केही स्टोर र कफि शपहरुबाट शुरु भएको शेर्पा चियाको बजार केही वर्षमै क्रोगर र होलफुडका स्टोरहरुमार्फत अमेरिकाका ५० वटै राज्यमा फैलियो । 

उनी शेर्पा चियाको उत्पादन प्रमुख हुन् । र, शेयरधनी पनि । उनले उत्पादन गर्ने चियामा सात वटा फ्लेवर छन् । चियामा, अदुवा, सुकमेल, अलैंची लगायतको स्वाद छ । चिया बनाउदा न मसला हाल्नु प¥यो । न त चिनी । सबै कुरा मिसाएका छन् । चिया बनाएपछि छान्नु पर्ने झञ्झट पनि भएन । दुधको तातो चिया खानेले तताएर हाल्ने । चिसो चिया खानेले दुधमा बरफ हालेर खाने । चियापत्ती भनेपछि दिमागमा धुलोको प्याकेट आउछ । उनले बनाएको चिया भने झोलमा छ ।

शेर्पा चिया, ५० वटै राज्यमा आफ्ना उत्पादन बेच्ने नेपाली मूलका व्यवसायीको पहिलो उद्योग हो । जसले अमेरिकी बजारमा नेपाली चिया बेचिरहेको छ । 

शेर्पा चियाका लागि अदुवा पेरुबाट आउछ । चिनी कोलम्बियाबाट । उनी चियापत्ती र अलैची भने नेपालको प्रयोग गर्छन् । 

व्यवसायसंगै सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन्, उनी । रगतको अभावमा क्यान्सरबाट ग्रसित आमाको उपचारमा झेलेको सास्ती सम्झिए । रक्तदान गर्न थाले । २० पटक बढि रक्तदान गरे । रगतको अभावमा छटपटाईरहेकी एक महिलालाई रक्तदान गरे । शिशुसंगै आमाको ज्यान जोगाए । 

एक पटक उनी पर्यटक लिएर भोजपुर जादै थिए । उनी गहतेमा उकालो चढ्दै गएका एक हुल मान्छे स्टे«चरमा तल झादै थिए । दुई दिनपछि फर्किदा एक घरमा रुवावासी चलिरहेको थियो । उनले थाह पाए, दुई दिन स्टे«चरमा लैजादै गरेकी गर्भवती महिलाको प्रसुती केन्द्रमा पु¥याउन नपाउदै मृत्यु भएछ ।

उनले त्यहाँको भिडिओ पोष्ट गरे । विदेशीलाई सहयोगका लागि आग्रह गरे । केही समयै विदेशीहरु आफै आएर ४० हजार युरो सहयोग गरे । र, स्वास्थ्य चौकी बनाए ।

आफूले पढेको बुद्ध आदर्श माविमा आमाको नाममा पाँच लाख ५० हजार रुपैयाको अक्षय कोष स्थापना गरे । २०१९ देखि त्यही कोषबाट चार जनालाई छात्रवृति उपलब्ध गराउदै आएका छन् । 

सन २०१४ मा सोलुखुम्बुको तेङबुचे गुम्वा निर्माणका लागि एक हजार डलर सहयोग गरे । बुधवारे– ३ होक्सेमा बृद्ध चौतारी निर्माणमा तीन लाख रुपैया दिए । काभ्रेमा बाढी पहिरो जादा पाँच सय डलर पठाए । कोरोना र महाभूकम्पमा पनि उनी चुप लागेर बस्न सकेन । सहयोग पठाए । भौतिक रुपमा अमेरिकामा छन् । उनको मन भने नेपालमै छ । योबीचमा २०१६, २०२२ र २०२४ मा नेपाल गए । 

अमेरिकाको बैभवका बीचमा उनले बिर्सेका छैनन्, डिल्लीबजारको त्यो पुरानो पाटी । जहाँ कैयौ रात भोकलाई विछ्याएर सुतेका छन्, उनी । सिरानी बनाएर अभावलाई । देखेका छन्, रुमानी सपनाहरु । तारा गनेर विताएका अनिदा रातहरु । कहिले आउला उज्यालो ? सोच्दै घर्केको रात । 
सम्झनामा अझै जीवित छ, त्यो धोवी खोला । जसको कञ्चन पानी सिलित्तै पिए । लागे लागोस हैजा । कस्ले गरोस फिक्री । त्यही पानीमा निस्फिक्री नुहाएको बिर्सिने कुरै भएन । धोवी खोला छेउमा रोपेका बदाम । बालुवा देखिने कञ्चन पानी । कहाँ भेटिनु, कोलोराडोमा त्यो काठमाण्डौं ? बोल्डर र लुईसभेल । गोल्डेन । गनिसन । क्रिष्टेड व्युट । यी सबैमा उनी खोज्छन्, बुधवारे झापा ।

उनलाई दुःखसुखमा साथ दिईन, श्रीमती लिला कोईरालाले । कतिसम्म भने उनलाई सघाउन श्रीमतीले सफा टेम्पु सिकिन । छ महिनाभन्दा बढि समय काठमाण्डौंका सडकमा टेम्पु चलाईन । सन्तानलाई हुर्काउनु पर्ने भएपछि घरभित्र खुम्चिईन् । अभाव भनिनन् । दुःखमा ऐया भनिन् । कहिल्यै गुनासो गरिनन् । छायाजस्तै उनलाई साथ दिईरहिन । उनी काममा हुन्थे । श्रीमतीले दुई सन्तान हुकाईन । उनी अमेरिका गए । श्रीमतीले सन्तानलाई पढाईन । 

छोरी अमृताले आईटीमा मास्टर्स गरिन् । छोरा अमृत बास्केटबलको नेशनल प्लेयर छन् ।  स्पोर्टस साईन्समा मास्टर्स गरिरहेका छन् ।

कतिपय मान्छेहरु असफलताको दोष आफू जन्मेको भूगोलमाथि थोपर्छन् । परिवेश र परिवारसंग गुनासो गर्छन् । उनले कसैसंग गुनासो गरेनन । न समय । न नियति । न परिवेश । जसले जे दिए, स्वीकार गरे । अभाव, पीडा, चोट, भोक । सबै । 

उनले अभाव झेले । भोक सहे । मातृ वियोग बेहोरे । थुप्रै हण्डर खाए । तर उनी गलेनन । समय अनुकुल थिएन । परिवेश समयभन्दा पछि थियो । उनले गुनासो गरेनन । हरेश खाएनन । अघि बढिरहे । 

रोकिने छुट थिएन । पुरुषले रुन नपाउने समाज । धीत मर्ने गरी रुन मन पुरुषभित्र पनि हुदो हो । आँशुसंगै पीडा बगाउन पनि नपाउने । समय र नियतिले दिएका चोटहरु सहेर उनी बस्, मुस्कुराईरहे । 

त्यो समय । काठमाण्डौं सपनाको शहरको थियो । अमेरिकाको सपना त कसले देखोस ? उनले काठमाण्डौं देखे । झापाबाट काठमाण्डौं जादा त उनीसंग सपना पनि थिएन । विहा गरे । जिम्मेवारी थपियो । काठमाण्डौंको संगतले उनीभित्र सपना हुर्कियो । त्यही सपनाले डो¥याएर उनी अमेरिका पुगे । उनी भित्र थियो, त्यो सपना पुरा गर्ने दृढ ईच्छाशक्ति र संकल्प । हार्न उनले जानेका थिएनन् । 
उनी विश्वविद्यालय गएनन् । तर उनको अनुभव, संघर्ष र भोकको कथा विश्वविद्यालयका पाठ्यक्रममा पढाई हुदैन । पढेर होईन, परेर खारिएको उनको जिन्दगीले भन्छ, कठिन घडीमा जो उभिईरहन सक्छ, त्यसैले ईतिहास कोर्छ ।