बैतडीका ९ ओटा पालिकाको बजेट सार्वजनिक

बुधबार असार ११, २०८२/ Wednesday 06-25-25
Paschim Today

बैतडी–बैतडीका १० ओटा पालिकामध्ये ९ ओटाले मंगलबार बजेट सार्वजनिक गरेका छन् । मेलौली नगरपालिका बाहेकका स्थानीय तहहरुले आगामी आर्थिक बर्ष २०८२÷८३ का लागि बजेट ल्याएका हुन् । 

जिल्लाको पुरानो नगरपालिकाको रुपमा रहेको दशरथचन्द नगरपालिकाले ८८ करोड ३८ लाख ५० हजार ७१६ रुपैयाँ बराबरको बजेट ल्याएको छ । उपप्रमुख कौशिला चन्दले नगरसभामा पेश गरेको उक्त बजेट सर्वसम्मत पारित भएको छ । 

यस्तै जिल्लाको पुर्चौंडी नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ६४ करोड १२ लाख बराबरको बजेट ल्याएको छ । जिल्लाको पाटन नगरपालिकाले ६६ करोड ९३ लाख १७ हजार बराबरको बजेट पारित गरेको नगर प्रमुख गौरीसिंह रावलले बताए । नगर उपप्रमुख कमलसिंह बोहराले आफ्नो संलग्नता बिना बजेट आएको भन्दै नगरसभाबाट बाहिरिएका थिए । त्यसपछि नगर प्रमुख रावल आँफैले सभामा बजेट पेश गरेका थिए । उक्त बजेट सभाबाट बहुमतले पारित भएको बताइएको छ । 

यस्तै जिल्लाको सुर्नया गाउँपालिकाले ४५ करोड २२ लाख १० हजार ५७ रुपैयाँ बराबरको बजेट गाउँसभामा पेश गरेको छ । बजेटमाथि छलफल गरेर असार १६ गतेको गाउँसभाबाट बजेट पारित गर्ने तयारी रहेको उपाध्यक्ष मञ्जु बोहराले बताइन् । 

जिल्लाको शिवनाथ गाउँपालिकाले ३८ करोड ४८ लाख २७ हजार ४ सय ४५ रुपैयाँ बराबरको बजेट गाउँसभाबाट पारित गरेको छ । उपाध्यक्ष शकुन्तला साउँदले सभामा पेश गरेको बजेट पारित भएको अध्यक्ष कर्णसिंह साउँदले बताए । 

यस्तै दोगडाकेदार गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ५२ करोड ६८ लाख ७४ हजार ६ सय ६४ रुपैयाँको बजेट ल्याएको छ । यसैगरी डिलाशैनी गाउँपालिकाले ६५ करोड २३ लाख ८५ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । 

यस्तै जिल्लाको पञ्चेश्वर गाउँपालिकाले ४२ करोड ८२ लाख ३० हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । आगामी आर्थिक बर्षका लागि उक्त बजेट उपाध्यक्ष बिना भट्टले गाउँसभामा पेश गरेकी हुन् । 

यस्तै सिगास गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ५५ करोड ९० लाख ७४ हजार १ सय ९ रुपैयाँ बराबरको बजेट पारित गरेको छ । असार ७ गते गाउँसभामा पेश भएको उक्त बजेट मंगलबार पारित गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताए । 

मेलौली नगरपालिकाले भने असार १७ गते बजेट ल्याउने तयारी गरेको छ । नीति तथा कार्यक्रम यसअघि नै पारित गरिसकेको नगरपालिकाले १७ गते बजेट ल्याउने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर चन्दले बताए ।