नेपाल नागरिकता विधेयक असार १४ गतेको प्रतिनिधि सभाबाट पारित हुन्छः गृहमन्त्री

काठ्माण्डौँ- गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता विधेयक असार १४ गतेको प्रतिनिधि सभाबाट पारित हुने बताएका छन्।
बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले विधेयक छिटो पारित गर्नुपर्ने र अड्काएर राख्न नहुने बताए।
सरकार सबै विषयका कन्टेन्टहरूमा छलफल गर्न तयार रहेको उनले बताए।
समितिले छोटो समयमा छलफल गरेर नागरिकतासम्बन्धी विधेयक समितिबाट टुंगोमा पुर्याएको बताउँदै १४ गते प्रतिनिधि सभाबाट पारित गर्ने बताए।
सम्भव भए नेपाल प्रहरीसम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक पनि असार महिनाभित्रै समितिबाट पारित गरेर सदनमा पेस गर्ने वातावरण बनाइदिन आग्रह गरे।
गृहमन्त्री लेखकले भने, ‘विधेयक चाँडो गरौँ। सरकार सबै विषयका कन्टेन्टहरूमा छलफल गर्न तयार छ। छिटो छलफल गरेर यसलाई टुंग्याऔँ। योभन्दा पहिला हाम्रो मन्त्रालयबाट नेपाल नागरिकता ऐन संशोधनको विषय आयो। त्यसमा पनि यही निवेदन गरेको थिएँ। चाँडो टुंग्याइदिऔँ भनेर। समितिले छोटो समयमा छलफल गरेर यो विधेयक यो समितिबाट टुंगोमा पुगेको छ। मैले पाएको जानकारीअनुसार १४ गते सम्मानित प्रतिनिधि सभामा पेस हुँदैछ। त्यसलाई १४ गते पास गर्छौं। चाँडोभन्दा चाँडो नागरिकताको विषयलाई पनि टुंग्याऔँ। यदि सम्भव हुन्छ भने यो महिनाभित्र यो विधेयकलाई पनि टुंगो लगाऔँ।’
समितिमा आज नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल सुरू भएको हो। गृहमन्त्री लेखकले प्रहरी यो विधेयक सरकारको प्राथमिकतामा रहेको बताए।
तपाईको प्रतिक्रिया