प्रदेश सभाको बैठक असार १३ मा बस्ने
2025-06-25-05-59-42.jpeg)
धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक असार १३ गतेबाट बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीको अध्यक्षतामा आज बसेको कार्य व्यवस्था तथा परामर्श समितिको बैठकले सो निर्णय गरेको हो ।
बैठकमा सुदूरपश्चिम प्रदेश सभाको सचिव र सचिवालय व्यवस्थापनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफलको प्रस्ताव हुने प्रदेशसभा सचिवालयका प्रवक्ता उपसचिव ९कानुन० तेजप्रकाश जोशीले बताए ।
यसअघि, समितिको बैठकले बजेटमाथि छलफलका लागि असार १० गते नै प्रदेश सभाको बैठक सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, तयारी नपुगेकाले सो बैठक स्थगित गरिएको थियो । प्रदेशसभा सदस्यले पर्याप्त मात्रामा बजेट अध्ययन नगरेका कारण बैठक स्थगित भएको जोशीले बताए ।
यसैबिच असार १५, १६ र १७ गते बजेटमाथि नियमित छलफल गरेर बजेट पारित गर्ने समितिको बैठकले निर्णय गरेको छ । आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले आगामी आर्थिक वर्षको लागि ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपियाँको बजेट असार १ गते सभामा प्रस्तुत गर्नुभएको थियो । असार मसान्तभित्रै बजेट पारित गरिसक्नु पर्ने कानुनी प्रावधान छ ।
तपाईको प्रतिक्रिया