युवा वैज्ञानिक डा. जितेन्द्र उपाध्याय, जसले मुख्यमन्त्रीको सल्लाहकार बन्न त्यागे क्यानडाकाे सुख-सुविधा

शनिबार असार १४, २०८२/ Saturday 06-28-25
Paschim Today

कैलाली । कतिपय नेपाली युवाको सपना हुन्छ- विदेश जाने, पढ्ने र उतै भविष्य बनाउने ! यही सपना बोकेर उच्च शिक्षा हासिल गर्न विदेश गएका नेपाली युवाहरूको फिर्ता हुने सङ्ख्या न्यून हुँदै आएको छ ।

त्यही न्यून हुँदै आएको स्वदेश फर्कनेमा पर्छन् डा. जितेन्द्र उपाध्याय । उनी आफ्नो ऊर्जाशील समय परदेशमा बिताएर त्यहाँको प्रगतिमा दुःख गर्ने र रुग्ण उमेरमा देश फर्किनेहरूको जमातमा अपवाद भएका छन् ।

डा. उपाध्याय ती पात्र हुन्, जसले विदेशमा बसेर उच्च सफलता हासिल गरे पनि मातृभूमिका लागि सबै छोडेर फर्कने निर्णय गरे । अछामको कमलबजारस्थित कुइकामा जन्मिएका डा. उपाध्याय अहिले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहका राजनीतिक सल्लाहकार छन् । विज्ञान, अनुसन्धान, सङ्गठन र समाज सेवाको सङ्गम बनेका उनी १७ वर्षको अन्तर्राष्ट्रिय अनुभव बोकेर स्वदेश फर्किएका हुन् ।

कैलालीको टीकापुरस्थित वीरेन्द्र विद्या मन्दिरमा कक्षा १० सम्म अध्ययन गर्दा उनी कहिल्यै दोस्रो हुनुपरेन । शैक्षिक जीवनमै अनुशासित, होसियार र उद्देश्यप्रति स्पष्ट सोच भएका उनी सिद्धार्थ वनस्थलीबाट आईएस्सी गरेपछि त्रिचन्द्र कलेजबाट विज्ञानमा स्नातक उत्तीर्ण भए । प्रारम्भमा मेडिकल डाक्टर बन्ने चाहना थियो, तर त्रिचन्द्रमा पढ्दै माइक्रोबायोलोजीमा रुचि जागेपछि उनी सोही क्षेत्रमा केन्द्रित भए ।

त्रिचन्द्रपछिको शैक्षिक यात्राले उनलाई रुस, बङ्गलादेश, कोरिया हुँदै क्यानडासम्म पुर्‍यायो ।

राजनीतिक चेतना र सङ्गठनमा सक्रियता

शैक्षिक यात्रासँगै उनी विद्यार्थी राजनीतिमा पनि सक्रिय थिए । २०६० सालदेखि त्रिचन्द्र क्याम्पसमा नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)मार्फत विद्यार्थी आन्दोलनमा होमिएका उनी २०६२ मा स्ववियु निर्वाचनमा विजयी भए । २०६२/०६३ मा काठमाडौं उपत्यकाका प्रमुख क्याम्पसमा आन्दोलन हाँक्नेसम्मको जिम्मेवारी उनको काँधमा थियो ।

तत्कालीन सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका सेती र महाकाली अञ्चलमा पनि उनको राम्रो पकड भएको हुँदा यहाँका विद्यार्थीहरूलाई एकीकृत गर्ने, आन्दोलनको मोर्चामा लैजाने र लोकतन्त्रको पक्षमा दृढ बनाउने उनको दैनिकी थियो ।

‘२०६२/०६३ को आन्दोलनमा उपत्यकाका विद्यार्थीहरूलाई केन्द्रित गर्ने, गणतन्त्रको पक्षमा वकालत गराउने र नेविसंघको मोर्चा सम्हाल्ने जिम्मेवारीमा थिएँ’, ती दिन सम्झँदै उनले भने, ‘तपाईं हामी सबैको दुःखले ल्याएको लोकतन्त्र गणतन्त्रको संरक्षण गर्नु तपाईं हाम्रै दायित्व हो ।’

अनुसन्धान र अन्तर्राष्ट्रिय अनुभव

त्रिचन्द्रबाट स्नातकपछि चीन सरकारको छात्रवृत्तिमा नाम निक्लिए पनि उनी अन्तर्वार्तामा सहभागी भएनन् । त्यसपछि उनले रसियाको छात्रवृत्तिमा मास्टर इन फुड साइन्स एन्ड टेक्नोलोजी गरे । बङ्गलादेशको ढाका विश्वविद्यालयमा थप अध्ययन गरे । कोरियाको छात्रवृत्तिमा प्रविधिबाट विद्यावारिधि गरे ।

नेपाल फर्किएपछि उनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा वैज्ञानिकका रूपमा काम गरे । त्यहीबेला काठमाडौं विश्वविद्यालयमा पढाउन थाले । अनुसन्धानका क्रममा उनले डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिमका जिल्लामा जडीबुटी र जङ्गली च्याउमाथि अध्ययन गरे । विषालु र खाद्य च्याउको वर्गीकरण र चेतनामूलक पहलमा उनले योगदान पुर्‍याए ।

‘जङ्गली च्याउबाट प्रत्येक महिना ज्यान गइरहेको खबर आएपछि मैले कस्ता च्याउ खाने र कस्ता नखाने भन्ने विषयमा अनुसन्धान गरेको थिएँ’, डा. उपाध्यायले भने, ‘त्यो बेला सुदूरपश्चिमका वनजङ्गलमा भएका जडीबुटीहरूका बारेमा थप जानकारी प्राप्त भयो ।’

वैज्ञानिकलाई सल्लाहकारको जिम्मेवारी

विदेशमा उनी विज्ञानको क्षेत्रमा स्थापित थिए । क्यानडाको म्याकगिल विश्वविद्यालयमा पढाउँदै गर्दा उनलाई प्रदेश सरकारबाट राजनीतिक सल्लाहकारको प्रस्ताव गयो । करिब १७ वर्ष विदेश बसेका उनी एक सातामै निर्णयमा पुगे र विश्वविद्यालयमा राजीनामा दिएर नेपाल फर्किए ।

‘क्यानडा छोड्नु मेरो जीवनको सबैभन्दा ठूलो निर्णय थियो’, उनी भन्छन्, ‘मातृभूमिको लागि केही गर्नुपर्छ भन्ने सोचले फर्किएको हुँ ।’

उनी नेपाली जनसम्पर्क समिति क्यानडा शाखाका उपसभापतिसमेत थिए । मुख्यमन्त्री कमलबहादुर शाहले उनको विज्ञता र अनुभवलाई नै प्रधान मानेर आफ्नो राजनीतिक सल्लाहकारको रूपमा जिम्मेवारी दिएका हुन् ।

‘मुख्यमन्त्रीज्यूले विभिन्न महत्वपूर्ण विषयमा उहाँ (राजनीतिक सल्लाहकार)ज्यूसँग निरन्तर छलफल गर्नुहुन्छ । नीति, विधि, कानून र दीर्घकालीन महत्वको विषयमा विश्वव्यापी अभ्यास, अवस्था र प्रभावको उहाँहरूबीच छलफल हुने गर्छ’, मुख्यमन्त्री शाहका प्रमुख स्वकीयसचिव प्रयागराज खनाल भन्छन्, ‘प्रदेशको विकास र समृद्धिमा मुख्यमन्त्रीज्यूसँग निकै राम्रो केमेस्ट्री मिलिरहेको छ ।’

सल्लाहकारका रूपमा डा. उपाध्यायले लगानी सम्मेलनदेखि नीति निर्माणसम्म उल्लेखनीय भूमिका खेलेका छन् । सुदूरपश्चिममा जडीबुटीमार्फत समृद्धिको खाका बनाउँदै उनले प्रशोधन केन्द्र र प्रयोगशालाको प्रस्ताव अगाडि सारिरहेका छन् ।

‘स्थानीयले जडीबुटीको महत्व बुझ्न सकेका छैनन्, हामीसँग प्रशोधनको संयन्त्र छैन । सीधा भारत जान्छ’, उनी भन्छन्, ‘त्यसैले नीति, कानून र संरचना निर्माणका लागि म सुझाव दिइरहेको छु ।’

प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा पनि यो विषय समेटिएको छ । जानकारहरूका अनुसार डा. उपाध्यायकै सुझावमा सरकारले प्रशोधन केन्द्र र प्रयोगशालालाई महत्व दिएको छ । जडीबुटीबाट प्रदेशलाई समृद्ध बनाउन सकिने उनको बुझाइ छ ।

नेपाली कांग्रेसमा विद्यार्थी कालदेखि सक्रिय उनी पार्टी विभाजनका बेला शेरबहादुर देउवासँगै अडिग रहे । यही निष्ठाका कारण देउवाको विश्वास जित्न सफल भएको उनी बताउँछन् ।

मुख्यमन्त्री शाह रहँदासम्म आफ्नो पद हुनेमा विश्वस्त डा. उपाध्याय आफू त्यहाँ रहँदासम्म प्रदेशको समृद्धिमा दीर्घकालीन महत्वका विषय नीतिगत रूपमा स्थापित गराउने प्रयासमा रहेको बताउँछन् ।

उनी भन्छन्, ‘म जुन पदमा छु, त्यो जिम्मेवारी आजै सकिए पनि गुनासो छैन । मलाई देश र प्रदेशका लागि आफ्नो सीप लगाउनु छ ।’

मुलुकभित्र सम्भावना नरहेको भन्दै युवाहरू पलायन भइरहेको बेला डा. उपाध्यायले क्यानडाको लाखौं पारिश्रमिक त्यागेर देशमै सम्भावना खोज्न सकिन्छ भन्ने उदाहरण दिएका छन् । त्यसमाथि राजनीतिप्रति वितृष्णा बढिरहेका बेला उनी आफ्नो राजनीतिमार्फत देश र प्रदेशको समृद्धिको रेखा कोर्न सकिन्छ भन्ने योजनामा छन् । उनी भन्छन्, ‘विदेशमा जस्तो सफलता मिल्दा पनि देशमा केही गर्नुको आनन्द छुट्टै हुन्छ ।’

‘जुनसुकै देशमा गए पनि त्यहाँ म दोस्रो दर्जाको नागरिक जस्तै हुँ, तर आफ्नो देशमा सानो योगदानले पनि ठूलो असर पार्नसक्छ’, डा. उपाध्याय थप्छन् ।

एक वैज्ञानिकबाट उनले अहिले राजनीतिक सल्लाहकारको पहिचान बनाएका छन् । आफ्नो सीप र ज्ञानलाई प्रदेशको समृद्धिमा लगाउने योजना बनाएका छन् । क्यानडाबाट आफ्नो सबै योजना र उद्देश्य त्यागेर मातृभूमि फर्किएका उनी प्रदेश र देश समृद्ध भएको देख्न चाहन्छन् ।

आफू जस्तै सबै नेपाली देश सम्झिएर फर्किएको वा आफू बसेको देशबाट आफू जन्मिएको देशको विकासको लागि केही गरेको हेर्न चाहन्छन् डा. उपाध्याय ।