कैलाली र कञ्चनपुरमा भन्सार छलिका सामान बरामद

धनगढी : कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट भन्सार छलि गरी अवैध रूपमा भारतबाट ल्याइएका करिब साढे तीन लाख रुपैयाँ बराबरका सामानहरू प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलाली मातहतका प्रहरी टोलीहरूले धनगढी उपमहानगरपालिका–३ सहिदगेट र टिकापुर नगरपालिका–८ अरनुवा सडक खण्डमा गस्तीका क्रममा छाडिएको अवस्थामा भेटिएका विभिन्न सामग्री नियन्त्रणमा लिएका हुन्। ती सामग्रीमा बिडी, सुर्ती, पानीपुरी, कुर्ता सुरवाल, धोती लगायतका वस्तु छन्। बरामद सामग्रीको अनुमानित एक लाख ७५ रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका–११ टाउके बजारस्थित भित्री सडक किनाराबाट पनि अवैध रूपमा भारतबाट भन्सार छलि गरिएका वस्तुहरू फेला परेका छन्। प्रहरी चौकी परासनबाट खटिएको गस्ती टोलीले ती सामानहरू बरामद गरेको हो।
बरामद गरिएका सामग्रीमा सुटपिस, प्लाष्टिक झिल्ली, प्लाष्टिक डोरी, एक थान मोटरसाइकलसमेत छन्। उक्त सामानहरूको अनुमानित एक लाख ८९ हजार रहेको जनाइएको छ। प्रहरीले सबै सामग्री आवश्यक कारबाहीको लागि त्रिनगर भन्सार कार्यालय, धनगढीमा बुझाएको छ।
तपाईको प्रतिक्रिया