पार्टीभित्र खुला र स्वस्थ बहस आवश्यक : एमाले नेता कर्ण थापा
शनिबार असार १४, २०८२/ Saturday 06-28-25
Paschim Today
कैलाली | नेकपा (एमाले) स्थायी कमिटी सदस्य कर्ण बहादुर थापाले समाज रूपान्तरणका लागि बल होइन, विचार र सिद्धान्तको आवश्यकता औंल्याएका छन्। कैलालीको सुखडमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको ‘जनतासँग जबजको सान्दर्भिकता’ विषयक विचार गोष्ठीमा बोल्दै उनले विचार केन्द्रित नेतृत्व आवश्यक रहेको बताए।
“पार्टीभित्र बहस र मतमतान्तर स्वाभाविक हो,” थापाले भने, “तर, गुट, पद र व्यक्ति केन्द्रित राजनीतिले होइन, विचार, सिद्धान्त र निष्ठाले नेतृत्व बन्नुपर्छ।”
गुटबन्दी, डर र लोभको प्रवृत्तिप्रति आलोचना
थापाले पार्टीभित्र बढ्दो गुटबन्दी, भय र पदलालसाले कम्युनिष्ट आन्दोलन दिशाहीन बन्दै गएको टिप्पणी गरे। “आज सामूहिक प्रणाली कमजोर हुँदैछ,” उनले भने, “सही कुरा बोले टिकट खोसिन्छ कि भन्ने त्रास छ। पार्टी विचारले होइन, डर र लोभले चलिरहेको छ।”
उनले मदन भण्डारीको राजनीतिक जीवनशैलीको चर्चा गर्दै विचार र निष्ठामा आधारित नेतृत्व आवश्यक रहेको बताए। “उहाँ कुनै शक्तिको भरमा राजनीतिमा आउनुभएन,” थापाले भने, “उहाँको अन्तिम भरोसा जनता र विचार थियो, त्यसैले उहाँ जननेता बन्नुभयो।”
जबज : विचार मात्र होइन, विश्व सन्देश
थापाले मदन भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ (जबज) सामान्य विचार नभई दूरदृष्टियुक्त राजनीतिक दर्शन भएको बताए। “जबज नेपाली राजनीति मात्र होइन, विश्व राजनीति र शान्तिमा समेत प्रभाव पार्ने सामर्थ्य राख्छ,” उनले भने, “यसले दीर्घकालीन मानव कल्याण र समृद्धिको आधार दिन सक्छ।”
नेतृत्व हस्तान्तरणमा स्पष्ट धारणा
थापाले पार्टीमा उमेर हद (७० वर्ष) र दुई कार्यकालको सीमासम्बन्धी प्रस्तावबारे पनि धारणा राखे। “यो प्रस्ताव यत्तिकै लेखिएको होइन,” उनले भने, “पदमा पुगेपछि नछोड्ने प्रवृत्तिलाई रोक्न यस्तो व्यवस्था गरिएको हो। यसमा गम्भीर बहस आवश्यक छ।”
चुनावी क्षेत्र सिमन–०८४ को सन्दर्भ उठाउँदै थापाले चुनाव जित्ने आधार विचार, क्षमता र लोकप्रियता हुनुपर्ने बताए। “परिवारका सदस्यलाई सिधै पार्टीको अध्यक्ष बनाएर संसदीय उम्मेदवार बनाउने प्रवृत्ति गलत हो,” उनले भने।
ढकालप्रति स्पष्ट आलोचना
थापाले सांसद एकनाथ ढकालप्रति तीव्र आलोचना गर्दै भने, “उहाँ कम्युनिष्ट विचारधाराविपरीत सोच राख्ने व्यक्ति हुनुहुन्छ। अन्य शक्तिको निर्देशनमा चल्ने व्यक्तिलाई एमालेको समानुपातिक कोटाबाट सांसद बनाउनु दुःखद हो।”
उनले यस्ता निर्णयले पार्टीको अनुशासन, छवि र मूल विचारधारामा गम्भीर क्षति पुर्याउने चेतावनीसमेत दिए।
"ओली विरोधी होइन"
कर्ण थापाले आफूलाई केपी शर्मा ओलीविरुद्धको खेमामा देखाउने प्रयासप्रति आपत्ति जनाउँदै भने, “उहाँ एक्लै हुँदा पनि म उहाँसँग थिएँ। उहाँ मेरो अध्यक्ष हुनुहुन्छ।” उनले पार्टीभित्र विचारका आधारमा बमदेव गौतम, माधवकुमार नेपाल र प्रदीप नेपालसँग बहस भएको स्मरण गर्दै अनावश्यक विवादले पार्टी कमजोर बन्न नहुने स्पष्ट पारे।
थापाले वर्तमान सन्दर्भमा छरिएर रहेका कम्युनिष्ट शक्तिहरूलाई एकताबद्ध गरेर एमाले नेतृत्वमा राष्ट्रिय कम्युनिष्ट आन्दोलनलाई पुनः बलियो बनाउनु आजको आवश्यकता रहेको बताए। “मदन भण्डारीको दर्शन नेपालको मात्र नभई विश्व कम्युनिष्ट आन्दोलनलाई अघि बढाउने क्षमता राख्दछ,” उनले निष्कर्ष टंकन गरे।
तपाईको प्रतिक्रिया