महाकाली सिँचाइ योजना एक महिनामै पूरा

बैतडी, असार १७ गते । पञ्चेश्वर गाउँपालिकाले महाकाली नदीबाट पानी तानेर विनायक फाँटमा सिँचाइ पु¥याउने योजना पूरा गरेको छ । गत चैत महिनामा विस्तृत अध्ययन प्रतिवेदन तयार गरेर जेठबाट निर्माण सुरु भएको योजना एक महिनामै पूरा भएको हो । पञ्चेश्वर गाउँपालिका–४, विनायकको पल्लोभोरामा पानी वितरण गर्न १५ हजार, आठ हजार र एक हजार लिटरका तीन वटा ट्याङ्की निर्माण गरिएका छन् । १७ हर्सपावरको विद्युतीय मोटर जडान गरेर चार इन्च मोटो पाइपमार्फत टङ्कीमा पानी भरेर सिँचाइ पुर्याउने गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो ।
योजना निर्माणको प्राविधिक पाटो कृषि क्षेत्रमा काम गर्दै आइरहेको सामाजिक संस्था रुडेस बैतडीलाई दिइएको छ । रुडेसले यसअघि दशरथ चन्द नगरपालिका–१०, खडेनी र बुर्किल गाउँमा महाकालीकै पानी तानेर सिँचाइ सुविधा पुर्याइसकेको छ । योजना निर्माण गर्न पञ्चेश्वर गाउँपालिकाको ३० लाख रुपियाँ र प्राविधिक सहयोग रुडेसले गरिरहेको संस्थाका कार्यकारी निर्देशक गोविन्दराज जोशीले बताउनुभयो । उहाँले महाकाली नदी किनारबाट पानी जम्मा हुने ट्याङ्कीसम्म २३८ मिटर दुरी रहेको बताउनुभयो ।
खेतसम्म सिँचाइ पुर्याउन छ सय मिटर पाइपलाइन बिछ्याइएको छ । १७ हर्सपावरको विद्युतीय मोटरले चार इन्च मोटो पाइपबाट प्रतिसेकेन्डमा २२ लिटर पानी पान्ने छ । पानी जम्मा गर्न निर्माण गरिएका २४ हजार लिटरका ट्याङ्की भर्न करिब १८ मिनेट समय लाग्ने छ । विद्युतीय महसुल कम हुने भएकाले कृषि मिटर जडानको तयारी भइरहेको छ ।
तपाईको प्रतिक्रिया