बझाङमा फोन गर्न घाम कुर्नुपर्ने बाध्यता

बझाङ। “बिहान घाम लाग्यो भने मोबाइलमा नेटवर्क आउँछ, साँझ घाम अस्ताउँदा नेटवर्क पनि अस्ताउँछ,” बझाङका अधिकांश बस्तीको पीडा हो यो । बुङ्गल नगरपालिका–२ का उपभोक्ता गोविन्द जाग्रीले गुनासो गर्दै भने, “सूचनाको युग भनिने आजको समयमा पनि बझाङकामा दर्जनौँ बस्तीमा घाम नलागेसम्म फोन गर्न नसकिने बाध्यता छ । घाम छैन भने नेटवर्क छैन, नेटवर्क छैन भने सञ्चार छैन ।”
नेपाल टेलिकमले बाजुरामा २२ वटा टावर स्थापना गरिसकेको छ । तीमध्ये १६ वटा टावर सौर्य ऊर्जामा आधारित छन्, जसले घाम लाग्दा मात्र सेवा दिन सक्छन् । बाँकी छ वटा टावर मात्रै राष्ट्रिय प्रसारण लाइनको विद्युत्सँग जोडिएका छन् । यही संरचनागत सीमितता र कमजोर व्यवस्थापनका कारण बझाङका जनताले सञ्चार अधिकारको न्यूनतम सुविधा पनि सुनिश्चित गर्न सकेका छैनन् ।
नेपाल टेलिकम बझाङका प्रमुख बमबहादुर सिंहले पनि समस्या स्वीकार गरेका छन् । “धेरै जसो टावर सोलारमा छन् । पर्याप्त घाम नलाग्दा ब्याट्री चार्ज हुँदैन, सेवा बन्द हुन्छ,” उनले भने, “हामीले प्रदेश कार्यालयमा समस्या सम्बोधन गर्न पत्राचार गरिरहेका छौँ तर स्थायी समाधान अझै पर्खिनु पर्छ ।”
कुनै गाउँमा बिरामी परे, गाडी बोलाउन वा स्वास्थ्यकर्मीलाई खबर गर्नु पर्यो भने फोन हातमा लिएर अर्को गाउँसम्म दौडिनुपर्ने बाध्यता छ । बाटोसमेत नखुलेको मौसममा अरू गाउँ पुग्ने कल्पनै गर्न सकिन्न । बिहान केही समय घाम लाग्यो भने मात्रै नेटवर्क आउने भएकाले कहिलेकाहीँ बिरामीको अवस्था चिन्ताजनक हुँदै जान्छ तर फोन नलाग्दा हेर्नुबाहेक केही गर्न सकिँदैन । खप्तडछान्ना गाउँपालिका–६ का ईश्वरबहादुर थापा भन्छन्, “इन्टरनेटको युग भनिन्छ तर हामी सञ्चार सेवाबाट वञ्चित छौँ ।”
बर्खायाम र हिउँदमा टावर ठप्प हुन्छन् । सोलारबाट सञ्चालित टावर बादल लाग्नासाथ बन्द हुने गर्छन् । नेटवर्क हराउँछ । टेलिकमको सञ्जाल अस्थिर हुँदा स्थानीय आपत्कालीन परिस्थितिमा झन् कमजोर हुन्छन् । दुर्गम गाउँमा त परिस्थिति झन् भयावह छ । खप्तडछान्ना, छबिसपाथिभेरा, दुर्गाथली, बित्थडचिर, साइपाल र बुङ्गल नगरपालिकालगायत बझाङका धेरै स्थानीय तहमा नेटवर्क समस्या बारम्बार उठ्ने गरेको छ ।
टावर छन् तर सेवा छैन
खप्तडछान्ना गाउँपालिका–४ को चौकाडाँडा वडा नं। ६ को बयानाको डाँडामाडौँ, बुङ्गल नगरपालिका अन्तर्गत जयनलीडाँडा, थलकाँडा, दहबगरडाँडा, केदारस्युँको केदारडाँडा र छबिसपाथिभेरा–२ को मेल्लेखडाँडालगायतका स्थानमा टावर त छन् तर ऊर्जा छैन । सोलार प्रणालीमा भर परेका टावरले बर्खामा काम गर्न सक्दैनन् ।
जयपृथ्वी बहुमुखी क्याम्पसका प्राध्यापक लालबहादुर बोहोरा भन्छन्, “सूचना प्रविधिको युगमा आधारभूत सञ्चार सुविधा पनि नपाउनु राज्यको लापर्बाही हो । यस्तो लज्जास्पद अवस्था हटाउन तत्काल नीति र लगानी आवश्यक छ ।”
“बझाङमा अहिले पनि सञ्चार पहुँच आकाशको बादलमा भर परेको छ । घाम लाग्यो भने सञ्चार हुन्छ नत्र जीवन पनि अन्धकारमै हुन्छ । सूचना प्रविधिको तीव्र विकासबिच यो अवस्था मुलुकको विकासको गतिमा कालो बादल झैँ छ,” उनले गुनासो गरे।
तपाईको प्रतिक्रिया