मध्य रातमा प्रदेश सांसद ललिता दासमाथि आक्रमण

बुधबार असार १८, २०८२/ Wednesday 07-02-25
Paschim Today

काठ्माण्डौँ- जनता समाजवादी पार्टी नेपालकी मधेश प्रदेश सांसद ललिता दासमाथि आक्रमण भएको छ । उनीमाथि गए राति सिरहाको लहानमा आक्रमण भएको हो ।

प्रदेश राजधानी जनकपुरधामबाट मंगलबार राति करिब साढे १२ बजेतिर पूर्व-पश्चिम राजमार्गअन्तर्गत लहान नगरपालिका– १ मा बसबाट ओर्लिएलगत्तै दुई जना अपरिचित युवाहरूले सांघातिक आक्रमणको प्रयास गरेको उनले बताएकी छन् । ती युवाहरूले लखेट्न थालेपछि आफू भागेर ज्यान जोगाएको उनको भनाइ छ ।

भागेर आफ्नो घरमा पुगेर ज्यान जोगाएको उनले बताइन् । प्रदेशसभामा दलित, महिला, अन्यायमा परेका व्यक्ति र उनीहरूमाथि अत्याचार गर्नेहरूको विषयमा कुरा उठाइरहेकाले आफ्नो आवाज बन्द गर्न षड्यन्त्रमूलक ढंगले आक्रमणको प्रयास भएको दासको दावी छ ।

इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक कैलाश राईले प्रदेश सांसदमाथि आक्रमणको प्रयास भएको बारेमा खबर आएलगतै आफूले तत्काल मोबाइल टोलीलाई पठाएको बताए । उनले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।