पत्रकार दिलभूषण पाठक जिल्ला अदालत काठमाडौंमा हाजिर

बिहीबार असार १९, २०८२/ Thursday 07-03-25
Paschim Today

काठमाडौं । पत्रकार दिलभूषण पाठक विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दाका लाग जिल्ला अदालत काठमाडौंमा हाजिर भएका छन् ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश खेमराज भट्टको इजलासमा पत्रकार पाठकको बयान र थुनछेक बहस हुने तय भएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।

साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार पाठकविरुद्ध मुद्दा दायर गरेको थियो । साइबर ब्युरो ५९ को नाममा परेको जाहेरीका आधारमा उनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा एक लाख रुपैयाँ जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय मागदाबी गरिएको छ।

जाहेरीकर्ताले ‘हिल्टन होटलमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. आरजु राणा पुत्र जयवीर देउवाको पैसा’ भन्ने शीर्षकसहितको सामग्रीमा आफ्नो तस्बिर प्रयोग गरी चरित्रहत्या गरिएको आरोप लगाएका छन्।

त्यसबारेमा इजलासमा पाठकको बयान हुने छ । बयानलगत्तै थुनछेक बहस हुने र थुनछेक बहस सकिएपछि थुनामा पठाउने कि बाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्ने पाउने भन्नेबारे अदालतले आदेश गर्नेछ।

पाठकलाई पक्राउ नगरी उनीविरूद्ध मुद्दा दर्ता गरिएको थियो।

भिडिओबारे उजुरी परेपछि उनीविरूद्ध ब्युरोले पुर्जी लिएको थियो ।

असार ५ गते उच्च अदालत पाटनले पत्रकार पाठकलाई पक्राउ नगर्न भनेको थियो । त्यसअघि असार २ गते उच्च अदालत पाटनले पत्रकार पाठकलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।