दीर्घकालीन महत्वका सडक सम्पन्न गर्न माग

सोमबार असार २३, २०८२/ Monday 07-07-25
Paschim Today

धनगढी- नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले मनसुनजन्य विपत्बाट यस प्रदेशमा जीउधनको रक्षाका लागि सचेत र तयारी अवस्थामा रहन तीन तहको सरकारलाई आग्रह गरेको छ । 

धनगढीमा बसेको सो पार्टीको सातौं पूर्ण बैठकले विपत्बाट हुने हानी नोक्सानबाट जनतालाई बचाउन सम्पूर्ण सावधानी अपनाउन आग्रह गरेको हो । 

यसैगरी, दार्चुलाको सदरमुकाम लगायतका क्षेत्रमा महाकाली नदीले कटान गरिरहेकाले कटान नियन्त्रण गर्न तटबन्धको उचित व्यवस्था गर्न एमालेले सरकारसँग माग गरेको छ । यस्तै, कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लामा बाढी, पहिरो र नदी कटान भएका क्षेत्रहरुमा उचित राहत व्यवस्थापनका लागि नेपाल सरकार र प्रदेश सरकारसँग एमाले बैठकले माग गरेको छ ।

किसानलाई आवश्यक मलखादको व्यवस्थाका लागि पनि बैठकले नेपाल सरकारको ध्यानाकर्षण गराएको एमालेको उपसचिव तथा प्रचार–प्रसार विभाग प्रमुख भागरथी विष्टले जानकारी दिए । यस प्रदेशमा दीर्घकालीन महत्वका सडक छिट्टै सम्पन्न गर्न संघीय र प्रदेश सरकारसँग माग गरेको छ । त्यसका लागि यथेष्ट बजेट व्यवस्थापन गर्न संघीय र प्रदेश सरकारलाई एमालेले आग्रह गरेको छ । 

सो पार्टीले महाकाली लोकमार्ग, सेती लोकमार्ग, खुटिया–दिपायल द्रुत मार्ग, बङ्क–नाइल–बुडर सडक, बेलौरी–कलुवापुर–दोमिल्ला–नाइल लगायत बुहप्रतिष्ठित एवम् दीर्घकालीन महत्वको सडक सम्पन्न गर्न माग गरेको छ ।