चिन्ता गाउँघरका छोरीहरुको

गाँउघरमा बुढापाखाहरुको छोरी प्रतिको सोच अझै पनि बदलिएको छैन । छोरीले बाहिर पढ्न जानु हुदैन । बाहिरको काम गर्नुहुदैन । छिट्टै विहे गरेर पठाउनु पर्छ । धेरै वर्ष माइतीमा राख्नु हँुदैन भन्ने धारणा गाँउघरमा अझै पनि छ । परम्परागत सोचबाट हाम्रो समाज अझै पनि माथि उठ्न सकेको छैन । त्यसको एउटै कारण हो, भोतिक विकास मात्र देख्ने आखामा मानविय विकास पर्न प्राथमिकतामा परेन ।
परम्परागत सोच भएका मानिसले आधुनिक समाज बुझेका छैनन । उनिहरु अझै पनि छोरीलाई अर्काको घर जाने र सन्तान उत्पादन गर्ने मेसिनका रुपमा देख्छन । छोरा सरह शिक्षा दिए छोरी पनि आत्मनिर्भर बन्न सक्छ भन्ने कुरा उनिहरुले स्वीकारेका छैनन् । गाँउघरमा चेतनाको अभाव छ । बुढा पाखाहरुको मनमा जरा गाडेर बसेको छोरी प्रतिको परम्परागत धारणालाई परिवर्तन गर्न त्यति सजिलो छैन ।
हिजो मेरो आमाले फोनमा भन्दै हुनुहुन्थ्यो ‛गाउँको बाजे भन्दै थिए छोरीहरुलाई पनि सहर पढ्न पठाछौ र ? किन पठाउनु पर्यो ? केही समय आफुसँगै काम गराएर पछि विहे गराई दिए त भइहाल्यो नि ।’ यो सुन्दै गर्दा मेरो मनमा एउटा प्रश्न उठ्यो । अझै पनि छोराछोरी बिच यति धैरै भेदभाव किन ?
अचेल धेरै छोरीहरुले पनि उदाहरणीय काम गरेका छन । छोरा सरह हरेक काम गर्न सक्ने क्षमता उनिहरुमा छ । अझै पनि समाजमा छोरी प्रती यति संकिर्ण सोच आखिर किन ? छोराको जस्तै घरबाट बाहिर गएर छोरीले किन पढ्न पाउदैनन् ? के एउटा छोरीको जीवन गाँउघर, मेलापात र चुलो चौँकोमा मात्र सिमित हुनुपर्छ ? के छारीलाई आफ्नो भविष्य उज्वल बनाउने अधिकार छैन ?
आधुनिक समाजका महिलाहरु घरधन्दामा मात्र सिमित छैनन् । उनिहरु आत्मर्निभर भएर खान सक्ने भएका छन् । आफ्नो मात्र नभएर घर परिवार देखी सिंगो समाज र देशको नेतृत्व गर्न सक्ने भएका छन् । तर बिडम्वना हाम्रो गाँउ, समाजका दिदिबहिनीहरुको जीवनस्तर अझै माथि उठ्न सकेको छैन् । घास दाउरा, मेला पात, पानी पधैरोे मै सिमित छ उनिहरुको जीवन ।
विपन्न परिवारका छोरी अथवा महिलाहरुको उसले पाउनु पर्ने अधिकारबाट बञ्चित छन । दुर्गम भेगमा धनी र शिक्षित परिवारले मात्रै छोराछोरीलाई उच्च शिक्षाका लागि जिल्ला बाहिर पठाउँछन । तर, कमजोर आर्थिक अवस्था भएको परिवारका छोरीहरुले १२ कक्षा सम्म पनि धौ धौ पढ्छन । उच्च् शिक्षा त उनिहरुका लागि सपना जस्तै हो ।
सुदूरपीशचमका पहाडी जिल्लाका दुर्गम ठाँउमा उच्च शिक्षाको व्यवस्था छैन । १२ पछि स्नातकका लागि कित सदरमुकाम बस्नुपर्छ कित जिल्ला बाहिर । जाहाँ सबै पठाउन सक्दैनन् । केहिले क्रण कर्ज गरेर पठाए पनि छोरालाई मात्र पठाउने गर्छन । छोरीका लागि त फेरी उहिँ घास दाउरा हो ।
केहिले दश कक्षा सम्म मात्रै पढ्छन् । एसइइ पछि पढाई छोड्दिन्छन् । परिवारले पनि पुनः विद्यालय पढाउन मन गर्दैनन् । त्यसपछि बिचमै पढाइ छोडेर लाग्छन घरको काम धन्दामा । शिक्षा पुरा नभएपछि उनिहरुले के गर्ने के नगर्ने भन्ने निर्णय आफैले लिन सक्दैनन् । चेतनाको अभावले गर्दा गाँउघरमा बालविवाहका घटनाहरु दिनप्रतिदिन बढिरहेका छन् । जसले उनिहरुको जीवनमा ठुलो प्रभाब पार्छ ।
उमेर नपुगी विवाह गर्दा कम उमेरमा बच्चा जनिमन्छन । जसले उनिहरुको स्वास्थ्यमा जटिल समस्याहरु देखा पर्छन । कतिपय अवस्थामा त आमा र बच्चा दुवैको ज्यान जाने गरेको छ । जुन सुगम जिल्ला मानिने कैलाली कञ्चनपुरमा पनि उच्च छ । बालविवाहले खास गरी बालिकाहरुकोे पढाइमा ठुलो प्रभाव पार्छ ।
विहे गरिसकेपछि आफ्नो पढाइलाई निरन्तरता दिने वातावरण हुँदैन । पढाई सुरु गरेपनि प्राय कमैले मात्रै अध्यन पुरा गर्न पाउँछन । विहे गरिसकेपछि पढाउँछन भनी धेरैले आसवासन दिन्छन्, तर पढ्न दिँदैनन् । दिए पनि त्यो महिलाले पढाई सँगै परिवारको जिम्मेवारी वहन गर्नु पर्ने हुन्छ । जसका कारण पढ्ने चाहाना हुँदाहुँदै पनि पढ्न पाउदैनन् ।
पढ्ने मन थियो तर विहेपछि पढ्न पाएनौ भन्ने गुनासो धेरैको मुखबाट सुनिन्छ । विहे गरिसकेपछि एउटा छोरीले पढ्ने र आफ्ना सपना पुरा गर्ने रहर मार्नुपर्ने वाध्यता अझै पनि छ । आफ्नो भविष्य बनाउछु केही गर्छु भनेर सानैदेखी गरेको मेहेनत खेर फाल्नु पर्छ । न पढ्ने वातावरण मिल्छ न त कुनै काम गर्ने अवसर । त्यसैले त लाग्नु पर्छ उहि गाँउघरको घाँस, दाउरा र मेला पातमा । आफ्ना चाहाना र भविष्यलाई थाँति राखेर घरमै सिमित रहन वाध्य छन अझै पनि कतिपय महिलाहरु ।
त्यसैले अब छोरीहरुको जीवनस्तरलाई माथी उकास्ने हो भने हाम्रो समाजमा भएकोे पितृसतात्मक सोचलाई परिवर्तन गर्न जरुरुी छ । जसका लागी गाँउघरमा चेतनाको दियो बाल्नु पर्छ । गाँउघरका छोरी चेलीहरुलाई उच्चशिक्षा हासिल गर्न प्रेरित गर्नुपर्छ । सहरमा विशेष सुविधाका साथ गुणस्तरीय शिक्षा प्राप्त गरिरहेका दिदिबहिनीहरु मात्र होइन ।
गाउँघरमा दुख कष्ट भोगेर पनि पढाइलाई निरन्तरता दिन खोजीरहेका चेलीहरुप्रती सरकारको ध्यान जान आवश्यक छ । यदि त्यसो भयो भने सहरका मात्र होइनन । गाउँका कुना कन्धरामा आफुमा भएको क्षमता दवाएर बसेका छोरीहरुको जीवन पनि उकासिने छ । आशा छ हामिले यो परिवर्तन छिटै देख्न पाउने छौ । परिवर्तन सम्भव छ !
(लेखक : यशोदा शर्मा बैतडी, हाल धनगढी )
तपाईको प्रतिक्रिया