रास्वपा र राप्रपाले गरे संसद् बहिष्कार

मंगलबार असार २४, २०८२/ Tuesday 07-08-25
Paschim Today

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय छानबिन समितिको माग गर्दै संसद् बैठक बहिष्कार गरेका छन् । 

गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणको छानबिनका लागि गठित पूर्वमुख्य सचिव शंकरदास वैरागी नेतृत्वको समिति अस्वीकार गरेका दुबै दलहरूले मंगलबार एकसाथ बैठक बहिष्कार गरेका हुन् । 

बैठकको सुरुवात मै रास्वपाका तर्फबाट सांसद सोविता गौतम र राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पार्टीका तर्फबाट धारणा राख्दै संसद् बहिष्कारको घोषणा गरेका थिए । 

यसअघि सोमबारको बैठकमा रास्वपाले वेल घेराउ गरेको थियो भने राप्रपाले बहिष्कार गरेको थियो । दुवै दल जेठ १३ गतेदेखि लगातार संसद्मा भिजिट भिसा प्रकरणको छानबिन हुनुपर्ने र गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् ।