फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा ब्रेक थ्रु, ईआईए स्वीकृत

शुक्रबार असार २७, २०८२/ Friday 07-11-25
Paschim Today

धनगढी, २७ असार ।
फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्रामको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रक्रिया सम्पन्न भएको छ ।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले ईआईए स्वीकृत गरेसँगै परियोजना निर्माणमा  ब्रेक थ्रु भएको फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवाश शाहीले बताएका छन् ।

ईआईएसँगै परियोजना निर्माणका लागि आवश्यक महत्त्वपूर्ण कानूनी प्रक्रिया पूरा हुनु ठूलो उपलब्धि भएको शाहीले बताए । 

शाहीका अनुसार सरकारको उच्च प्राथमिकतामा रहेको यस परियोजनाका लागि आवश्यक जग्गा प्राप्ति, विकास समिति गठन तथा डीपीआर निर्माण जस्ता महत्वपूर्ण प्राविधिक कार्यहरु सम्पन्न भइसकेका छन् ।  

शाहीका अनुसार २६ अर्ब लागत अनुमान गरिएको खेलग्राममा क्रिकेट रंगशाला मात्रै ५० हजार दर्शक क्षमताको हुनेछ ।  खेलग्राममा क्रिकेट रंगशाला सहित फुटबल मैदान, पौडी पोखरी, ट्र्याक एण्ड फिल्ड, स्पोर्टस् म्युजियमसहित विभिन्न खेलकुद आयोजना गर्न सकिने मल्टि स्पोर्टस हलसहितका पूर्वाधार हुनेछन् । 

ईआईए पास भएसँगै अब स्रोतको सुनिश्चितता गर्दै ग्लोबल टेन्डरमा जाने प्रक्रिया अघि बढ्ने बताईएको छ, शाही भन्छन्, जसले फाप्लामा एकदिन विश्वकप आयोजना गर्ने हाम्रो सपनालाई मुर्तरुप दिनुका साथै धनगढीलाई सिटी अफ क्रिकेटका रुपमा ग्लोबल ब्रान्डका रुपमा स्थापित गर्नेछ । 

उनले खेलपर्यटनका माध्यमबाट सुदूरपश्चिमसँगै देशको आर्थिक उन्नयनका लागि कोशेढुंगा बन्ने यस परियोजनालाई मुर्तरुप दिन अहम् भूमिका खेल्ने  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, युवा तथा खेलकुद मन्त्री माननीय तेजुलाल चौधरी, वन तथा वातावरण मन्त्री माननीय ऐनबहादुर शाही लगायत सबैलाई धन्यवाद दिए ।

यस्तो हुनेछ रंगशाला