एकल महिलाका लागि महाकाली बन्यो जीविकोपार्जनको स्रोत

शनिबार असार २८, २०८२/ Saturday 07-12-25
Paschim Today

दार्चुला । दार्चुलामा बेरोजगार, गरिब र विपन्न मजदुरले महाकाली नदीबाट जोखिम मोलेर बालुवा निकाल्न बाध्य छन् ।  दैनिक हात मुख जोर्न बालुवाकै भर पर्नुपर्ने उनीहरूको बाध्यता छ । बर्खाको महाकाली उर्लंदो भेल होस् वा हिउँदको कठ्याङ्ग्रिँदो चिसो जोखिम मोलेर झिकेको बालुवाबापत प्रतिट्याक्टर नौ सय रुपियाँ नगरपालिकालाई कर तिर्नुपर्ने उनीहरूको अर्को बाध्यता छ । 

ज्यानकै बाजी थापेर निकालेको बालुवा सस्तो मूल्यमा बिक्री गर्नुपर्ने, माग कम हुनेलगायतका समस्या रहेको महाकाली नगरपालिका-४ का बालुवा सङ्कलक एकल महिला तारा लुहारको गुनासो छ । नेपाल-भारत सीमा भएर बग्ने महाकाली नदी यहाँका बेरोजगार, एकल महिला र विपन्न परिवारका लागि वर्षभरिको जीविकोपार्जनको स्रोत बनेको महाकाली नगरपालिका रोजगार संयोजक सन्तोषसिंह बोहोराले बताए ।

स्थानीय तहले सीमित स्रोतसाधनका बिच बेरोजगार र अति विपन्न परिवारका सदस्यलाई एक सय दिनको रोजगारी उपलब्ध गराउँदै आएको उनको भनाइ छ ।  बर्खामा महाकालीको उर्लंदो भेलको डर र त्रासका बिच नदी किनारबाट दिनहुँ ५०/६० बोरा बालुवा निकाल्ने गरेको दुहुँ गाउँपालिका-३, बाटमुणीका जसु लुहारले बताए । “आम्दानीको अर्को स्रोत अरू केही छैन्, शरीरमा तागत छउन्जेल मजदुरी गर्ने हो,” उनले भने। 

“बिहानबेलुकी हातमुख जोर्न बालुवाकै भर छ,” उनले भने । उनले दिनमा एक ट्याक्टर बालुवा सङ्कलन गर्दै आएका छन् । लामो समय चिसो पानीमा काम गर्दा ज्वरो, निमोनिया जस्ता रोगहरूको सङ्क्रमण हुने जोखिम रहेको उनले बताए। महाकाली नगरपालिका-४ को बङ्गाबगड, शिवनगर क्षेत्र र वडा नम्बर ५ को बसपार्क क्षेत्रबाट दैनिक रूपमा ५० जना मजदुरले बालुवा निकाल्ने काम गर्दै आएका छन् । हिउँदमा कम र बर्खामा धेरै बालुवा निकाल्न सकिने उनीहरूले बताए ।