अगष्ट दोश्रो साता मेरिल्याण्डमा अन्तर राज्य भलिवल प्रतियोगिता हुने

बाल्टिमोर, १५ जुलाई ।
सुदूर पश्चिम नेपाली समाज मेरिल्याण्डले अगष्ट दोस्रो साता अन्तर राज्य भलिवल प्रतियोगिता २०२५ आयोजना गर्ने भएको छ ।
समाजले अगष्ट ९ र १० मेरिल्याण्डमा अन्तरराज्य भलिवल प्रतियोगिता आयोजना गर्ने भएको हो । सुदूर पश्चिम समाजका अध्यक्ष बिक्रम शाहीले सुदूर पश्चिम समाज मेरिल्याण्ड कप नाम दिईएको भलिवल प्रतियोगितामा बिभिन्न राज्यका १० वटा टीमले भाग लिने बताए ।
अध्यक्ष शाहीले प्रतियोगितामा सहभागिताका लागि बिभिन्न राज्यका नेपाली टीमहरुलाई निमन्त्रणा पठाईसकिएको बताए । हामीले सबैतिर पत्राचार गरिसकेका छौ, शाहीले भने, केही टीमले सहभागी हुने प्रतिबद्धता समेत गरिसकेका छन् ।
उनले प्रतियोगिताको बिजयी टीमलाई सात हजार सात सय ७७ डलर र उपविजेतालाई तीन हजार तीन सय डलर र ट्रफी प्रदान गरिने जानकारी दिए । प्रतियोगितामा भाग लिन ६०० डलर प्रवेश शुल्क तोकिएको छ ।
प्रतियोगिता आयोजनाका लागि ३० हजार डलर खर्च हुने अनुमान गरिएको छ । जसमध्ये ९० प्रतिशत रकम जुटिसकेको आयोजकले जनाएको छ ।
भलिवलका राष्ट्रिय टीमका पूर्व कप्तान कैलाश भट्ट ब्राण्ड एम्बेसडर रहेको प्रतियोगिताको प्रोमोटरमा पूर्व राष्ट्रिय खेलाडी राम श्रेष्ठ रहेका छन् ।
तपाईको प्रतिक्रिया