कञ्चनपुर अदालतद्वारा ७० प्रतिशत मुद्दा फर्छ्यौट

बुधबार श्रावण १, २०८२/ Wednesday 07-16-25
Paschim Today

कञ्चनपुर । जिल्ला अदालत कञ्चनपुरमा चालु आर्थिक वर्षको हालसम्म एक हजार ६४५ मुद्दा फर्छ्यौट गरिएका छन् । दुई जना न्यायधीश रहनुभएका कञ्चनपुर जिल्ला अदालतमा न्यायधीश राजेन्द्रसिंह भण्डारीले लक्ष्यभन्दा १५३ बढी मुद्दा फर्छ्यौट गरेका छन । न्यायधीश भण्डारीले गत साउन महिनादेखि असार मसान्तसम्म सात सय ४८ मुद्दा फर्छ्यौट गर्ने लक्ष्य राखिएको थियो । उनले लक्ष्यभन्दा १५३ बढी अर्थात नौ सय एक मुद्दा फर्छ्यौट गरेका हुन।

यस्तै, न्यायधीश अत्मदेव जोशीले लक्ष्यभन्दा तेब्बरकम अर्थात २३७ मुद्दा फर्छ्यौट गरेको अदालतले गरेको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । न्यायधीश जोशीले हालसम्म ७५२ मुद्दा फर्छ्यौटको लक्ष्य राखिएकोमा पाँच सय १५ मुद्दा फर्छ्यौट गर्न बाँकी रहेको अदालतको २०८२ असार मसान्त सम्मको प्रगति विवरणमा उल्लेख छ ।

यस्तै, कञ्चनपुर जिल्ला अदालतमा जिम्मेवारी सरी आएका एक हजार २९ मुद्दा र चालु आवमा दर्ता भएका एक हजार ३२१ मुद्दा गरी दुई हजार ३५० मुद्दा दर्ता गरिएका छन् । जसमध्ये सात सय पाँच मुद्दा फर्छ्यौट गर्न बाँकी रहेको अदालतका श्रेस्तेदार ताराप्रसाद जोशीले जानकारी दिए । उनका अनुसार, अन्य वर्षको भन्दा चालु आवमा अत्याधिक ७० प्रतिशत मुद्दा फर्छ्यौट गरिएका छन् । अघिल्लो आवमा ५३ प्रतिशत मुद्दा फर्छ्यौट भएका थिए । अदालतले चालु आवमा १५ सय मुद्दा फर्छ्यौटको लक्ष्य पाएको छ ।

अदालतले दुई वर्ष पुराना मुद्दा शून्यमा झारेको दाबी गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै जिल्ला न्यायधीश जोशीले भने, ‘‘विगतमा फैसलामा ढिलाइ हुनेगरेकोमा सरोकारवाला र कानुन व्यवसायीहरूले छिटो छरितो काम गर्नुपर्ने बाचा गरेबमोजिम चालु आवमा बढी मुद्दा फैसला गर्न सफल छौँ ।’’  पुराना मुद्दालाई प्राथमिकता राखेर फर्छ्यौट गरिएको उनले बताए ।