धनगढीमा युवती हत्या प्रकरण: २५ दिनसम्म प्रहरी अनुसन्धानमै केन्द्रित, उपलब्धि शून्य

शुक्रबार श्रावण ३, २०८२/ Friday 07-18-25
Paschim Today

कैलाली । गत असार ९ गते धनगढी-उपमहानगरपालिका-२ बैयाबेहडीमा कोठाभित्र ताल्चा लगाएको अवस्थामा एक युवती मृत फेला परेकी थिइन्।

धनगढीमा उनी खानेपानी संस्थान कार्यालयमा कार्यालय सहयोगीको काम गरिरहेकी कञ्चनपुरको पुनरवास नगरपालिका-१० अमरवस्तीकी ३० बर्सिया रेणु चौधरीका हत्या गरिएको प्रहरीले ठहर गरिसकेको छ। तर, अहिलेसम्म पनि घटनामा संलग्नहरूको पक्राउ परेका छैनन् ।

घटनाको २५ दिनसम्म पनि कोठाभित्र ताल्चा लगाएर हत्या गरिएकी युवतीको हत्यारा पत्ता लगाउन प्रहरी असफल देखिएको छ।

घरबेटीले कोठाबाट गन्ध आएपछि झ्यालबाट हेर्दा उनको बीभत्स तरिकाले हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। घटना घटेको केही दिनपछि रेणुका आफन्तले प्रहरीमा जाहेरी दिएका थिए। तर,अहिलेसम्म पछि घटनाबारे प्रहरीले अनुसन्धान मात्रै गरिरहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी राजकुमार सिंहका अनुसार घटनाबारे अनुसन्धान जारी छ। अहिलेसम्म हत्यामा संलग्नलाई पक्राउ गर्न सकिएको छैन।

‘पहिला मान्छे पत्ता लगाएर पक्राउ पर्नु प¥यो, हामीहरू अनुसन्धानमै छौँ, हत्यामा संलग्न भएकाहरूको खोजतलास भइरहेको छ’ डिएसपी सिंहले भने ।

घाँटीमा धारिलो हतियारले प्रहार गरेर उनको हत्या गरिएको प्रहरीले जनाएको छ । कन्चटमा पनि चोट देखिएको थियो । उनले कोठामा चक्कु पनि बरामद भएको थियो ।

‘घाँटीमा धारिलो हतियारले प्रहार गरिएको जस्तो देखिएको थियो कन्चटमा चोट पनि थियो’, उनले भने, ‘घटनामा संलग्नहरूलाई खोजी रहेका छौँ तर, अहिलेसम्म पक्राउ परेका छैनन् ।’

उपमहानगरपालिकाले आयोजना गरेको पानीको गुणस्तरसम्बन्धी तालिममा सहभागी भएकी उनी त्यसपछि सम्पर्कमा थिइनन्। त्यसको भोली पल्टै घटना भएको प्रहरीले अनुमान गरेको छ । प्रहरीले घटनालाई संवेदनशील मानेर विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ ।

शव भेटिएलगत्तै तालिम प्राप्त कुकुरको सहयोगमा पनि प्रहरीले अनुसन्धान गरेको थियो । त्यसबाट पनि अनुसन्धानमा सहज हुने दाबी गरिएको थियो। तर, त्यसबाट पनि प्रहरीले कुनै प्रगति गर्न सकेको छैन ।

युवतीको मोबाइल पनि प्रहरीले बरामद गरेको छ । यसबाट पनि केही पत्ता लाग्ने अपेक्षा गरिएको छ । दर्जनौँलाई सोध पुछ गरिएको प्रहरीले जनाएको छ । तर, आरोपीसम्म अझै प्रहरी पुग्न सकेको छैन ।

प्रहरी प्रवक्ता सिंह भन्छन्, ‘कल डिटेल हेरेर हामीले अनुसन्धान गरिरहेका छौँ। घटनाको तथ्य पत्ता लगाउन दर्जनौँलाई सोधपुछ गरेका छौँ केही आधार त भेटिएको छ तर, आरोपी भेटिएको छैन ।’

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बाल नर सिंह रानाले घटनाको सूक्ष्म ढङ्गले अनुसन्धान भइरहेको भन्दै केही दिन भित्रै सत्य तथ्य सार्वजनिक हुने बताए ।

‘हामीले विभिन्न ढङ्गबाट अनुसन्धान गरिरहेका छौँ । अहिले शङ्कास्पद व्यक्तिहरूको खोजी जारी छ’ उनले भने ‘ढुक्क हुनुहोस् घटना कहिले र कसरी भएको र यसमा को को संलग्न छन् चाँडै पक्राउ हुन्छन् ।’